नेपाल टी–२० लिगमा आईसीसीको गम्भीर चासो

२१ पुस, काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आशंका बढेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गम्भीर चासो व्यक्त गरेको छ ।

म्याच वा स्पट फिक्सिङमा शून्य सहनशीलता अपनाउने बताएको आईसीसीले आफूले अनुमति दिएको प्रतियोगितामा एन्टी करप्सन युनिट (एसीयू) राख्ने गर्छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ पुसदेखि सुरु भएको नेपाल टी–२० लिगका आईसीसी एसीयू कमिटीका पूर्व सदस्य वीर सिंह नेतृत्वको टोली खटिएको छ ।

प्रतियोगितामा स्पट फिक्सिङको आशंका बढेपछि आईसीसीले निगरानी बढाएको छ । स्रोतका अनुसार वीर सिंह नेतृत्वको टोलीले लिगबारे गरेको रिपोर्टिङका आधारमा आईसीसीले प्राथमिकताका साथ अनुसन्धान सुरु गरेको छ ।

त्यसका लागि आईसीसी एसीयूका दुई सदस्य काठमाडौं आएका छन् । आईसीसी एसीयू म्यानेजर समेत रहेका इंग्ल्याण्ड प्रहरीका पूर्व अनुसन्धान अधिकृत र आईसीसी एसीयू सदस्य सन्नी सम्मिलित टिम बिहीबार बिहान काठमाडौं आइपुगेको हो ।

उनीहरुले बिहीबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन् । मैदानमा रहेका क्यान एसीयूका म्यानेजर वीर सिंहसँग भेटवार्ता गरेका छन् । दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टिमसँग छलफल गरेका उनीहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई पनि भेटेका छन् ।

राखेपले बुधबार मात्र नेपाल टी–२० लिगमा विदेशी खेलाडी श्रम स्वीकृति बिना खेलाएको, सट्टेबाजी भइरहेको र सम्भावित स्पट फिक्सिङबारे छानबिन गर्न कार्यकारीणी समिति सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

प्रतिक्रिया