बाह्रबिसे नगरलाई ट्रान्जिट सिटीका रुपमा विकास गर्न अध्ययन सुरु

२४ पुस, सिन्धुपाल्चोक । बाह्रबिसे नगरलाई ट्रान्जिट सिटीका रुपमा विकास गर्न अध्ययन कार्य सुरु भएको छ ।
निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको परिकल्पनामा अघि बढेको ट्रान्जिट सिटि निर्माणको कामलाई ब्यवस्थित तवरले तिब्रता दिन नवनिर्वाचित सांसद माधव सापकोटाले पहल लिनु भएको हो।
सहरी विकास मन्त्रालयमार्फत अघि बढाइएको कार्यक्रमका सन्दर्भमा शनिबार बाह्रबिसे नगरपालिकामा एक अन्तरक्रिया आयोजना गरेर अध्ययन अघि बढाइएको हो ।
छिमेकी चीनसँगको सबैभन्दा नजिकको ठूलो बजार बाह्रबिसेमा आयोजित अन्तरक्रियामा प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, अमृता नेपाल, बाह्रविसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मन्जु तामाङ लगायतले धारणा राखेका थिए ।
अन्तरक्रियामा सांसद साकोटाले भूगोल अनुसारको नदी ब्यवस्थापन, सडकको स्तरोन्नति, बसपार्क, अन्य व्यवस्थापनका विषयमा प्रतिवेदन तयार गर्न सुझाव दिए । प्रारम्भिक प्रतिवेदन आएपछि पुनः विस्तृत छलफल हुने छ। विस्तृत परियोजना प्रतिवेदन तयारीमा रहेको प्राविधिक टीम सहभागी रहेको अन्तरक्रियामा शिक्षा, कृषि, पर्यटन क्षेत्रका विज्ञ, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया