सबै दलसँग विश्वासको मत माग्ने सत्ता साझेदार दलहरुको निर्णय, प्रादेशिक तहमा बाँडफाँट टुंगियो

काठमाडौं, २४ पुस। आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले सरकारका लागि संसदमा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने निणर्य गरेको छ।
साथै बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निणर्य गरेको छ। न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गर्ने निणर्य गरेको छ।
बैठकमा सत्ता साझेदार दलहरूबिच संघीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा समेत छलफल भएको छ। सत्ता साझेदारीका बारेमा मूलभूत रूपमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिटै सार्वजनिक गर्ने पनि बैठकले निणर्य गरेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी थिए ।

प्रदेश तहमा सत्ता बाँडफाँड टुंगो

सत्ता साझेदार दलहरुले सत्ताको प्रदेश तहमा सत्ता बाँडफाँड टुंगो लगाएका छन् ।
सहमती अनुसार प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एमालेको मुख्य मन्त्री बन्ने छन् । तीन वटै प्रदेशमा ५ वर्ष नै एमालेले नेतृत्व गर्ने छ । कर्णाली प्रदेशमा माओवादीले पुरै ५ वर्ष मुख्यमन्त्री पाएको छ । संघीय राजधानी रहेको बागमतीमा पहिले माओवादीले र दोस्रो कार्यकालका लागि एमालेले नेतृत्व लिने छ । सहमती अनुसार सुदुरपश्चिममा माओवादी एमालेले आलोपालो गर्ने छन् । पहिले एमालेले पालो पाउने छ । मधेश प्रदेशमा भने जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले पालैपालो मुख्यमन्त्री चलाउने छन् ।

प्रतिक्रिया