यसरी सुरु हुँदैछ प्रतिनिधि सभा -२०७९ को पहिलो बैठक

२५ पुस, काठमाडौं ।
मंसिर ४ मा सम्पन्न संघीय संसद, प्रतिनिधि सभाको निर्वाचनबाट नवनिर्वाचित सांसदहरुले सोमबार (आज) पहिलो पटक बैठकमा सहभागिता जनाउँदै छन् । संसद सचिवालयले यसका लागि तयारी पुरा भएको जनाएको छ ।
सचिवालयले प्रतिनिधि सभा बैठकको सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ । दिनको १ बजे बस्ने बैठकमा सत्ता र प्रतिपक्ष दलका सांसदहरु सचिवालयले नियमानुसार तोकेको स्थानमा गएर बस्नेछन् । त्यसपछि सभामुख चयन नहुने बेलासम्मका लागि काम चलाउ सभामुखका रुपमा रहेका जेष्ठ सदस्यले सबै सांसदलाई स्वागत गर्ने छन् ।
सांसद पशुपति शम्शेर जबराले राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त पत्र पढेर सुनाएपछि केही प्राविधिक विषयको जानकारी गराइने छ । जसमा नयाँ नियमावली नबनेसम्मका लागि हाल कायम रहेको प्रतिनिधि सभा नियमावली २०७५ लाई आधार मान्ने र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन हुने छन् ।
सुरुको बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने परम्परा अन्तरगत सोमबार पनि दलहरुको संख्याका आधारमा प्राप्त हुने समय सिमा भित्र रहेर मन्तव्य राख्ने कार्यसूचि छ । बैठकमा सत्ता साझेदार र विपक्षी दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । त्यसपछि भने असोज १ यता मृत्यु भएका पूर्व सांसदहरुप्रति श्रद्धाञ्जली दिएर बैठक समापन हुने छ ।
प्रधानमन्त्रीले यहि २६ गते विश्वासको मत लिने कार्यक्रम रहेकोले अर्को बैठक २६ गते बस्ने निश्चित छ ।

प्रतिनिधि सभाका वर्तमान सांसदहरुले पुस ७ गते सपथ लिएका थिए भने प्रधानमन्त्री प्रचण्डले पुस १० गते सपथ लिएका थिए ।
२०७२ असोज ३ गते संविधान सभाबाट जारी संविधान अनुसार संघीय संसद प्रतिनिधि सभाको यो दोस्रो कार्यकाल हो । २०७४ सालमा पहिलो पटक निर्वाचित प्रतिनिधि सभाको अन्तिम बैठक २०७९ असोज १ गते बसेको थियो ।

प्रतिक्रिया