प्रचण्ड नेतृत्वको सरकारले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम अलिलम्ब सम्पन्न गर्ने

२६ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम अविलम्ब सम्पन्न गर्ने नीति अघि सारेको छ ।
सोमबार नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्बजनिक गर्न आयोजित कार्यक्रममा शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरी पीडितहरूलाई न्याय र परिपूरणको व्यवस्था गर्र्ने र समाजमा मेलमिलापको वातावरण सुदृढ गर्ने प्राथमिकताबारे जानकारी दिइएको हो ।
यसका लागि सरकारले प्रचलित ऐनमा संशोधन गर्ने सम्बन्धमा विगतमा भएको सहमति समेतलाई आधार बनाएर द्वन्द्वकालमा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनःस्थापनासम्बन्धी कार्य गर्ने जनाइएको छ ।
यस्तै द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको कार्य सम्पन्न गर्ने, आन्दोलनमा योगदान गर्नेहरूको सम्मानका लागि लोकतन्त्रका योद्धा सम्मानलाई निरन्तरता दिने, तराई÷मधेस लगायतका आन्दोलनका क्रममा सरकार र आन्दोलनकारीहरु बीच भएका सम्झौता अनुरुप मुद्धाहरु खारेज गर्ने एवं अन्यायपूर्ण ढङ्गले बन्दी बनाइएकाहरुलाई कानुनसम्मत ढङ्गले रिहाइ गर्ने विषय उल्लेख गरिएका छन् ।

प्रतिक्रिया