प्रधानमन्त्री प्रचण्डलाई संसद्को अभूतपूर्व, असाधारण र ऐतिहासिक विश्वास

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा अभूतपूर्व, ऐतिहासिकर असाधारण समर्थन पाएका छन् । पुसको १० गते एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार प्रतिनिधिसभामा दुई सय ६८ सांसदबाट विश्वासको मत पाएका हुन् ।
राष्ट्रपतिसमक्ष समर्थन पेस गरेभन्दा थप ९९ सांसदले प्रचण्डलाई विश्वासको मत दिएका छन् । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले ९८.१८ प्रतिशत मत प्राप्त गरेका छन् । खसेको मत संख्याका आधारमा प्रधानमन्त्रीले पाएको मत ९९.२६ प्रतिशत हो  ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलबाट समर्थन प्राप्त गरेर राष्ट्रिय सहमतिको केन्द्रमा आफूलाई उभ्याएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसको समेत विश्वास जितेर प्रचण्ड नेपालको संसदीय इतिहासमै संख्यामा दुईतिहाइभन्दा बढी बहुमत प्राप्त गर्ने शक्तिशाली दोस्रो प्रधानमन्त्री बनेका छन् । यसअघि ०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी सर्वसम्मत बनेका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई ९९.२६ प्रतिशत सांसदको समर्थन
कांग्रेसका ८५, एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १३, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपा र नागरिक उन्मुक्तिका ४–४ तथा तीन स्वतन्त्र सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए । सरकारलाई समर्थन गरेका कांग्रेसका तीन सांसद किशोरसिंह राठोर, अम्बिका बस्नेत र मनोरमा शेरचन अनुपस्थित भए । कांग्रेसकै एक सांसद निलम्बित छन् । सत्तासाझेदार राप्रपाका पशुपतिशमशेर जबराले सभामुखको भूमिकामा रहेकाले मतदानमा भाग लिएनन् । एक–एक सांसद रहेका नेमकिपा र जनमोर्चा मात्रै विपक्षमा उभिए ।

प्रतिक्रिया