क्रिकेटर लामिछाने ससर्त रिहा

किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्

काठमाडौं, पुस २८ । नेपाली राष्ट्रिय क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालत गएका सन्दीपलाई बिहीबार उक्त अदालतले रिहा गर्न आदेश दिएको हो । अदालती प्रक्रिया पुरा भएपछि उनी शुक्रबार रिहा हुने छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । सन्दीपलाई २० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्टार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

२०७९ भदौ २१ गते एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा अमेरिकाबाट नेपाल फर्कँदै गर्दा एएरपोर्टबाटै पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

त्यसयता सन्दीपलाई केन्द्रीय कारागार सुन्धारामा राखेर अनुसन्धान प्रक्रिया चलिरहेको थियो । यस मुद्दाको अन्तिम टुंगो भने काठमाडौं जिल्ला अदालतबाटै लाग्नेछ ।
उनलाई काठमार्डौ उपत्यका छोड्न, देश छोड्न वा पीडित किशोरी र परिवारलाई भेट्न भने रोक लगाइएको छ ।

प्रतिक्रिया