प्रचण्ड नेतृत्वको सरकारले पायो पूर्णता

मन्त्रीपरिषद् विस्तारसँगै नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

३ माघ, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । आज भएको मन्त्रिपरिषद विस्तारसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
मन्त्रीपरिषद् विस्तारसँगै नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री एवं ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा माओवादी नेत्री रेखा शर्मा नियुक्त भएकी छन् । माओवादीका अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् भने सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका छन् । सुशिला सिर्पाली ठकुरी भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् ।
नेकपा (एमाले) बाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री भएका छन् । पौडेलले परराष्ट्र र गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सहरी विकास मन्त्रीमा विक्रम पाण्डे र कानुन मन्त्रीमा ध्रुवबहादुर प्रधानले जिम्मेवारी पाएका छन् । राप्रपाबाटै दीपक सिंह ऊर्जा राज्यमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी, रास्वपाकी तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेकी छन् ।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए भने सोही दिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका थिए । एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिएका थिए ।

प्रतिक्रिया