सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको बताएका छन् ।

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको बताएका छन् ।
पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले आज (मंगलबार) दिउँसो बालुवाटार बोलाएका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिए । उनले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताउँदै प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताए ।
प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव मागेका थिए ।
प्रधानमन्त्रीले सरकारका सन्दर्भमा सत्ता साझेदार दलबिचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव मागेका थिए ।

प्रतिक्रिया