आफैं निवेदक भएर अध्यक्षलाई लेखेको पत्रमा आफैंले तोक लगाएपछि बलेफीकी उपाध्यक्ष लामा कानूनि समस्यामा

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाको उपाध्यक्ष सरु लामा तामाङले गाउँपालिका अध्यक्षलाई सम्बोधन गरेर लेखिएको निवेदनमा तोक लगाएपछि विवादमा तानिएकी छन् ।

सिन्धुपाल्चोक, ४ माघ । जिल्लाको बलेफी गाउँपालिकाको उपाध्यक्ष सरु लामा तामाङले गाउँपालिका अध्यक्षलाई सम्बोधन गरेर लेखिएको निवेदनमा तोक लगाएपछि विवादमा तानिएकी छन् ।
न्यायिक समितिको संयोजक समेत रहेकी उनले पालिका अध्यक्ष गंगाबहादुर तामाङलाई सम्बोधन गरिएको पत्रमा तोक लगाएपछि अख्तियारको दुरुपयोग सम्बन्धि कानून आकर्षित भएको हो । अध्यक्षलाई लेखिएको निवेदनमा निवेदक मध्ये सबैभन्दा पहिलो नाम उपाध्यक्ष लामाको छ । उनले त्यसमा हस्ताक्षर गरेकी छन् भने प्रशासनलाई पत्र दर्ताका लागि तोक लगाएकी छन् । पालिका अध्यक्ष गंगाबहादुर तामाङ कार्यालय बाहिर रहेको र अध्यक्षले उपाध्यक्षलाई पदको अख्तियारी समेत नदिएको अबस्थामा आफू आबद्ध दलको दवाबमा उनले सो कार्य गरेको खुलेपछि उपाध्यक्ष लामालाई कानूनि समस्या आइपरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्बिरसँगै ‘सहि काम गर्न सक्नु हुन्न भने गलत काम पनि कहिल्यै नगर्नु नि हैन हजुर’ लेखेकी उनले लगाएको तोक आदेश र नियम विपरितको कार्यले उपाध्यक्ष नै अप्ठेरोमा परेकी हुन् । गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले उपाध्यक्षको तोक आदेशले आश्चर्य लागेको बताए । ‘म कार्यालय बाहिर थिएँ, कानून विपरित उहाँले त्यतिसम्म गर्नुहोला जस्तो लागेको थिएन, मलाई सोधिएको पनि थिएन, मैले उहाँलाई अख्तियारी दिएको पनि छैन’ अध्यक्ष तामाङले भने ।
विशेष गाउँ सभा बोलाउने सम्बन्धमा अध्यक्षलाई लेखिएको पत्र अध्यक्षलाई समेत जानकारी नगराई तोक आदेश लगाएर दर्ता गर्न लगाइनु कानून विपरित रहेको बलेफी गाउँपालिकाका कानूनि सल्लाहकार रामहरी नेपालले बताए । ‘यस सम्बन्धमा उहाँले मसँग पनि सल्लाह गर्नु भएन, यो सरासर गैरकानूनी काम हो, नसच्याए अख्तियार दुरुपयोगमा जान्छ’, उनले भने । उपाध्यक्ष लामाले भने आफूले अख्तियारको दुरुपयोग गरेको पत्र आफ्नै सामाजिक सञ्जालमार्फत पोष्ट गरेकी छन् । सञ्चार र गायन क्षेत्रमा रहेका उनका पति प्रितम गोले तामाङले उपाध्यक्षको सो कामलाई गर्वसाथ प्रचार गरेका छन् । अख्तियारको दुरुपयोग सम्बन्धमा भने उनी सञ्चारमाध्यमको सम्पकमा आउन चाहिनन् ।
यसअघि राजश्व नै उठाउन नहुने माग राखेर काँग्रेस निकट जनप्रतिनिधिले गाउँसभा रोकेका थिए । चौतर्फी विरोध भएपछि उनीहरु सो माग फिर्ता गरेर गाउँसभामा सहभागि भएका थिए । हाल पालिका भित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयनका लागि कार्यपालिकामा बैठकको निर्णय अनुसार अघि बढिएको पालिकाले जनाएको छ । निर्वाचित जनप्रतिनिधि मात्रै व्यवस्थापन समितिमा रहने व्यवस्थालाई संसोधन गरी शिक्षाप्रेमि, अविभावक र वुद्धिजिविलाई समेत मनोनयन गर्नेगरि कार्यविधिमा संसोधन गर्ने निर्णयमा निवेदकहरुले नै हस्ताक्षर गरेको पाइएको छ । मंसिर २९ गतेको कार्यपालिका बैठकमा शिक्षा कार्यविधि चौथो संसोधन भएको र सो संसोधन गर्ने निर्णयमा उपाध्यक्ष सहित कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका छन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अध्यक्ष गंगाबहादुर तामाङले माओवादी केन्द्रबाट चुनाव जितेका हुन भने उपाध्यक्ष लामा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् । कार्यपालिकामा कांग्रेसको बहुमत भएको भन्दै कानून विपरित जान उक्साएपछि उपाध्यक्ष लामाले कानून विपरित अख्तियारको दुरुपयोग गरेको पाइएको छ ।

प्रतिक्रिया