छोराछोरीलाई नजिकबाट ख्याल गर्न निवर्तमान सभामुख सापकोटाको अभिभावकलाई सुझाव

२३ माघ, सिन्धुपाल्चोक । संघीय संसद, प्रतिनिधि सभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले आफ्ना छोराछोरीलाई नजिकबाट ख्याल गर्न अभिभावकलाई सुझाएका छन् ।
गृह नगरस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले पहिलो कक्षा घर र पहिलो शिक्षक बाबु आमा भएको कुरा नविर्सन अभिभावकलाई स्मरण गराएका हुन् । राजनीतिमा पूर्णकालीन हुनु अघि लामो समय शिक्षण पेशामा रहेका उनले छोराछोरीका अगाडि खराब शब्द नबोलिदिन अपिल गरे । जिल्लामा ‘अग्नि सर’ नामले चर्चीत सापकोटाले शिक्षकलाई नैतिक शिक्षामा जोड दिन र व्यावसायिक आचरण सुद्ध गर्नु पर्नेमा जोड दिए । उनले विद्यार्थीलाई देश र विद्यालयलाई प्रेम गर्न आग्रह गरे । ‘देश र विद्यालयलाई प्रेम गर्नु हुन्छ कि गर्नु हुन्न ?’ भन्ने सापकोटाको जिज्ञासामा विद्यार्थीले ‘गर्छौं’ भन्ने जवाफ फर्काएका थिए ।
देशभक्ति, सदाचार र राष्ट्रियताबारे विद्यार्थीलाई ज्ञान दिने जिम्मेवारी विद्यालयको रहेको उनको भनाई थियो । देशमा बेथिति उत्कर्षमा जाँदै गरेको संकेत गर्दै उनले देशभक्ति र सदाचारका विषयमा कसैसँग सम्झौता नगर्न सुझाव दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाको क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा सुबोधले विद्यालयबाट राजनीति सुरु गरेको स्मरण गरे । उनले विद्यालयलाई कृषि क्याम्पस बनाउनेतर्फ काम अघि बढाइएको जानकारी गराउँदै वरपरको बाटो स्तरोन्नति भएपछि टाढाका विद्यार्थी समेत आउन सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नवनिर्वाचित सांसद सापकोटालाई विद्यालयले सम्मान गरेको थियो । उनलाई निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले सम्मान गरेका हुन् । जनयुद्धको थालनी अघि नै चर्चामा आएको कुविण्डे राजनीतिक रुपमा चर्चीत एवं ऐतिहासिक क्षेत्र हो ।

प्रतिक्रिया