तातोपानी नाकाबारे छिट्टै ‘सुखद समाचार’ आउँदै छ : ‘सुबोध’

क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुबोध'ले तातोपानी नाकाबारे छिट्टै सुखद समाचार आउने बताएका छन् ।

सिन्धुपाल्चोक, २७ माघ । क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले तातोपानी नाकाबारे छिट्टै सुखद समाचार आउने बताएका छन् ।

तातोपानी नाका रहेको भोटेकोसी गाउँपालिमा विहिबार भएको छलफलमा माओवादी केन्द्रको पोलिव्युरो सदस्य समेत रहेका सापकोटाले नाका पूर्बवत सञ्चालनका लागि गरिएको पहलले सार्थकता पाउन लागेको जानकारी दिएका हुन् । छलफलमा उनले नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङ्गसँगको सम्वाद सुनाउँदै उक्त विश्वास व्यक्त गरेका हुन् ।

माघ २० गते जुगल गाउँपालिकाको रत्नराज्य मावि चनौटेको भवन हस्तान्तरण कार्यक्रम सुरु हुनु अघि राजदूतसँग सांसद सापकोटा र प्रदेश सांसदहरुले छलफल गरेका थिए । सो छलफलमा राजदूत चेन सङ्गले नाकाबारे छिट्टै ‘गुड न्युज’ (सुखद समाचार) सुन्न पाउने सुनाएको सांसद सापकोटाले भोटेकोसीमा जानकारी गराए । उनले सबै सिजनमा सडक सुचारु गर्नका लागि पनि पहल भइरहेको जानकारी दिए ।

सांसद सापकोटाले संगै तातोपानी क्षेत्रको भ्रमणका लागि गरेको आग्रहमा राजदूत चेन सङ्गले सहमती जनाएका छन् । चुनावका बेला तातोपानी नाका पूर्बवत सुचारु एवं नियमिति रुपमा जनताको घर दैलोमा पुग्ने प्रतिवद्धता जनाएका सापकोटाले बुधबार र विहिबार भोटेकोसीमा भेटघाट एवं छलफल गरेका थिए । तातोपानी बजारमा भएको छलफलमा वडा नं २ का अध्यक्ष कुमार श्रेष्ठलगायतको टोलीले नाकाको पूर्बवत सञ्चालन र सहज यातायात सञ्चालनका लागि आग्रह गरेका थिए ।

भूकम्प, बाढी पहिरो र कोभिड १९ का कारण विगत ७ बर्ष यता नेपाल चीन बीचको व्यापारिक तातोपानी नाका पूर्बवत सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया