राष्ट्रपतिका लागि पौडेल र नेम्वाङ्को उम्मेदवारी

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्ले उम्मेदवारी दर्ता गराएका छन् ।

१३ फागुन, काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

संसद भवन नयाँबानेश्वरमा राखिएको निर्वाचन कार्यालयमा पुगेर नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्ले उम्मेदवारी दर्ता गराएका हुन् । फागुन २५ गते हुने निर्वाचनमा यिनै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ ।
पौडेललाई सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्र, उनकै दल नेपाली कांग्रेससहित ८ दलको समर्थन रहेको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले मतदान गर्ने यो निर्वाचन पौडेलको पल्लाभारी हुने सम्भावना बलियो देखिन्छ । एमालेका उम्मेदवार नेम्वाङ्ले बहुमत पुर्याउने आधार कमजोर देखिन्छ ।
पुस १० गते प्रधानमन्त्री नियुक्त माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतीका आधारमा राष्ट्रपति निर्वाचन गर्नु पर्ने बताएपनि एमालेले त्यसमा अस्विकार गरेर आफ्नै उम्मेदवार हुनु पर्ने अडान राख्यो । पुस १० मा एमालेका उम्मेदवार राष्ट्रपति हुने समझदारी भएको दावी उसको छ । यद्यपी प्रधानमन्त्री प्रचण्डले भने पुस २६ मा विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसले समेत विश्वासको मत दिएपछि अबस्था बदलिएको माओवादीको दावी छ ।

प्रतिक्रिया