बालीनाली कुर्न बाघ गोठालो !

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेका एक किसानले बाँदरले बालीनाली खाएर हैरान पारेपछि गजबको जुक्ति निकालेका छन् ।

२४ फागुन, सिन्धुपाल्चोक । सुन्दा र पढ्दा अनौठो लाग्न सक्छ, तर भएको यहि छ । बाघले बालनाली कुर्ने गोठालोको काम गरिरहेको छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेका एक किसानले बाँदरले बालीनाली खाएर हैरान पारेपछि गजबको जुक्ति निकालेका छन् । स्थानीय किसान होमनाथ नेपालले बाँदर कुर्न बाघ गोठालो राखेका हुन् ।
यहाँ जिउँदो बाघ हो कि भनेर झुक्किनु पर्दैन, उनले बाघको फोटो राखेर ‘फ्लेक्स’ प्रिन्ट गरेर खेतमा ठाउँ ठाउँमा टाँगिदिएका छन् । ‘यसपाली आफ्नो र अरुको समेत खेत भाडामा लिएर आलु रोपेको थिएँ, बाँदरले हैरान पार्यो अनि बाघ गोठालो राखें ।’ उनले बाघको फ्लेक्स राख्नुको कारण सुनाए ।
उमेरले ३५ बर्षका होमनाथ मेहनती किसान हुन् । यो अक्कल कसरी आयो त ? उनी भन्छन् ‘खेतभरी आलु लगाइयो, उम्रिन पा’को छैन बाँदरले उखेल्न थालिहाल्यो, चिन्ताकै बिचमा यसो गरे हुन्छ कि भन्ने अक्कल आयो ।’ अनि काम गर्यो त ? उनले हाँस्दै सुनाए, ‘बाघले काम गर्यो, बाँदर खेतमा पस्न सकेन ।’ उनले पाँच हजार खर्चमा बाघ अंकित पाँच वटा फ्लेक्स प्रिन्ट गरेर खेतमा टाँगेका हुन् । उनले ढुक्कले २ सय बोरा आलु थन्क्याएका छन् । बाँदरले सागबारी र लसुनखेतिमा पनि आँखा लगाएपछि बाघ अंकित फ्लेक्स अहिले लसुन कुरिरहेको छ । उनको उपायले काम गरेपछि स्थानीय प्रकाश नेपालले पनि एउटा फ्लेक्स लसुनखेतिको कान्लोमा टाँगिदिएको सुनाए । होमनाथको अक्कलले उनलाई मात्रै होइन साँधमा खेत भएकाहरुलाई पनि सहयोग पुगेको छ ।
बाघको फ्लेक्सले दिउँसो आउने बाँदर डराउने भएपनि राति आउने बँदेलजस्ता जनावरका लागि भने उनीहरुले टाढाबाट नदेख्ने भएर काम नगर्ने किसान होमनाथको भनाई छ । उनले अन्य बालीनाली लगाउँदा पनि यो अक्कल गरिरहने सुनाए । अरु ठाउँमा पनि यस्तो उपायले काम गर्ला त भन्ने जिज्ञासामा उनी थप्छन, ‘यहाँ त गर्यो अरु ठाउँमा कसो होला कसरी भनौं ?’
चौतारा साँगाचोकगढी नगरपालिकाको कृषि शाखा प्रमुख चिरन्जीवी कट्टेलले भने यो एक पटकका लागि राम्रो उपाय भए पनि दिगो हुने विषयमा भने आशंका व्यक्त गरे ।

प्रतिक्रिया