म आजकाल आफ्नो गतिभन्दा अर्काको गतिको चासो लिने गर्छु । राज्यले नीति नियम नबनाएर यस भएको हो त ? या सही ढङ्गले नीति नबनाएर हो ? अथवा कार्यान्वयन गर्ने निकायहरू नै निकम्बा बनेर यसो भएको हो ? कारण बुझ्दिनँ म या दुनियाँको मनोवृत्ति नै कामै नगर्ने, कुरामात्र काटिरहने भएर हो कि ? कहिलेकाहीँ त अचम्म लाग्छ– रस्सा, चिनियाँ, जापानी, कोरियन पश्चिमेली मुलुकहरू आदि आदि देशका कामदारहरू, जनताहरूले मिहिनेत साथ, निष्ठापूर्वक काम गर्छन् रे भन्ने सुन्दछु । मुख चलाएको भनेको अस्पष्टतामा आफूभन्दा माथिल्ला तहका हाकिमसँग सल्लाह लिने गर्छन् रे, त्यो पनि नआत्तिइकन मसिनो स्वरमा, नअल्मलिइकन बोल्छन् रे, रे भनूँ न देखेको कुरा होइन सुनेको कुरा हो । आफूलाई विदेश भनेको कुन चराको नाम हो थाहै छैन । थाहा नभएको कुरा गर्दो रहेछ यो त भन्लान् भन्ने पनि उत्तिकै भय बढ्छ मनमा । रौँ भेटे भने दाम्लो रहेछ भनेर अतिशयोक्ति गर्ने समाज छ ।
विदेशतिर त आवश्यक कुरामात्र बोल्छन् रे, बोलेको कुरा दिमागमा राखिरहन्छन् रे । लामै श्रृङ्खलाको कुरा रहेछ भने टिपोट गर्छन् रे । एकपछि अर्को सिलसिला मिलाएर सुन्छन् रे, सुनेको कुरा राम्रोसँग कार्यान्वयन गर्छन् रे, उनीहरूको आदत अनुकरणीय छ रे तर हामी नेपालीहरू त्यस्तो हुन सकेनौँ भन्छ मेरो मन । ए यसो भन्दा तँ पनि उही ड्याङको मूला त हो नि नभन्लान् भन्ने पनि होइन । सबैलाई यौटै घानमा राखेर भुट्न पनि त भएन, सबै नेपालीहरू निकम्बा छैनन् पनि ।
झिनामसिना राजनीतिका कुरा अश्लील शैलीमा बोलिरहेको सुन्दा बेकार लागिरहन्छ । फेसबुकका भित्ताभरि एउटाले अर्कोलाई नसरापेको छिन होस्, दिन होस्, मात्रै एउटा कविले कल्पना गरेको स्वर्ग र नर्कको कथा जस्तै लाग्न थालेको छ । पृथ्वीनारायण शाहका बा नरभूपाल शाहले ठाउँको ठावैँ मान्छे काटे रे स्याङ्जामा भनेर अहिलेका गोरखालीसँग स्याङ्जालीले निहुँ खोजिरहेका छन् जस्तो । मोहनशम्शेरको हात थियो नि गङ्गालालहरू मार्नुमा भनेर तिनका सन्तानले ८० कटिसकेका पशुपतिशम्शेरसँग सेखी झार्न उनकै निवास महाराजगन्जमा गएर आन्दोलन गरे जस्तो यस्तै छ हाम्रो अवस्था । यता प्रचण्ड पाँच हजार मान्छे मार्ने हत्यारो रे अनि उता केपी ओली, शेरबहादुर, माधव नेपाललगायतका तत् तत् समयका कार्यकारी प्रधानमन्त्रीहरू, मन्त्रीहरू, पार्टीका सचेतकहरू, टाठाबाठाहरू आर्मीपुलिसका बडेबडे हाकिमहरू बाह्र हजार मान्छेका हत्याराहरू रे, अझ पूर्व राजा पनि रे त्यसमा संलग्न । राम राम के सुन्नुपर्छ यो कानले । त्यत्रा आर्मी पुलिसलाई अराएर मारेका हुन् त्यत्रोविधि मान्छे । कहिले मारे माधव नेपालले ? प्रचण्डले ? शेरबहादुरले ? खड्ग ओलीले ? हाम्रो दिनचर्या यसरी नै बितेराखेको छ । के काम ती कुरा गरेर ? एउटाले मन्त्री खायो भनेर अर्कोले रिस गरेको भन्दा बाहेक के उपल्ब्धी छ र त्यहाँ ? जो मन्त्री भए पनि कुर्सी त्यही हो, जो जो अनेकादि अमुक अमुक मन्त्रालयका, आयोगका, अदालतका न्यायमूर्ति न्यायाधीशहरू, नियोगका सिनिअर भए पनि नेपालमा बनेको कागजकै पैसा हो कसलाई थाहा छैन र ? सय वर्ष पुग्न लागेकी लेकका कुनुकन्दरामा बसेकी सहर बजार राजधानी भनेको के हो देख्दै नदेखेकी अनपढ हजुरआमैले त यो त कागजकै पैसा हो भन्ने जानेकी छिन् । यहाँ कुन नयाँ दल भनेर जन्मिएका जन्माएका नेताले पैसा चिनेकै छैन र ? सुन कुन खानीमा फल्छ भन्ने कुरा त थाहा छ तिनलाई त झन् । पढेलेखेका अङ्ग्रेजीमा फरर कुरा गर्न जान्ने छन् नयाँ पुस्ताका नेताहरू त झन् । विदेशीलाई त ठग्न सक्ने दिमाग छ भने जाबो नेपाली त के हाे र ?
आजकाल मेराे दिनचर्या फलानो नेताले यसो गर्यो, त्यसो गर्यो भन्दाभन्दै मुखमै घाउ होला भन्ने डर भइसकेको छ । तैपनि सराप्न छाड्दिनँ म । समय निरर्थक कुरामा व्यतीत भइरहेको छ ।
कहिलेकाहीँ त खेतबारी खनिरहेको हुन्छु म, त्यतिखेर पनि उभिई–उभिई राजनीतिक कुरा गर्ने गर्छु । यौटालाई मात्र दोष दिएर उम्किने अवस्था कहाँ छ र ? छैन । आफै राजनीतिकै गफ लडाउँदै समय बिताइरहेको हुन्छु जसमा पाँच पैसाको उपलब्धि छैन । कोही कोहीले हुँदै नभएको खोचोँ थापेर राजनीतिक पहुँचका भरमा तँलाई देखाजायेगा भनिरहेका सुन्छु । अनि हताश हताश मनस्थिति लिएर कुदिरहेको हुन्छु । जन्म, मृत्यु, जरा, व्याधि सबैलाई बिर्सेर कताकता शून्य संसारमा बिलाइरहेको हुन्छु । धिक्कार छ मेरो जीवन ।