वरिष्ठ साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई गृहजिल्लामा ‘जुगल साहित्य सम्मान’

वरिष्ठ साहित्यकार चन्द्रप्रसाद न्यौपाने 'जुगल साहित्य सम्मान'बाट सम्मानित भएका छन् ।

२९ फागुन । वरिष्ठ साहित्यकार चन्द्रप्रसाद न्यौपाने ‘जुगल साहित्य सम्मान’बाट सम्मानित भएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको चौतारास्थित जुगल बोर्डिङ्ग हाई स्कुलले ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा न्यौपानेलाई सम्मान गरेको हो ।
जिल्लाको बलेफी गाउँपालिका वडा नं २ मा जन्मिएका न्यौपानेले नेपाली साहित्यका सबै विधामा कलम चलाएर ठूलो योगदान पुर्याएका छन् । झ्याउरे भाकाको पालुवा खण्डकाव्यबाट साहित्यिक यात्रा सुरु गरेका न्यौपानेले वृहत्तर काब्य ‘चन्द्रयुग’सहित दर्जन महाकाव्य लेखेका छन् । नेपाली महाकाव्यहरुको समालोचनामा नविन कार्य गरेका उनको ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ हालै नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको छ । चार दर्जनबढि कृति प्रकाशन गरेका न्यौपानेका रचनामाथि स्नातकोत्तर र विद्याबारिधिसमेत गरी दुई दर्जन शोधार्थीले शोध गरेका छन् ।
न्यौपानेसँगै पूर्णबहादुर गौतम, दीपक बिस्ट र रामकृष्ण ढकाल पनि सम्मानित भएका छन् । सबैलाई पूर्व विद्यार्थी समेत रहेका प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुवोध’ले सम्मान प्रदान गरेका हुन् । विद्यालयले पूर्व विद्यार्थी ‘सुबोध’लगायत राष्ट्रका विभिन्न क्षेत्रमा पुगेका महानुभावलाई सम्मान गरेको हो ।
बरिष्ठ साहित्यकार न्यौपानलाई प्रदान गरिएको सम्मान पत्रको व्यहोरा पढ्नुहोस्

जुगल बोर्डिङ्ग हाई स्कुल
चौतारा, सिन्धुपाल्चोक
स्था.२०४७

श्री चन्द्रप्रसाद न्यौपानेज्यू
जुगल साहित्य सम्मान २०७९
बलेफी गाउँपालिका २, सिन्धुपाल्चोक ।
नेपाली साहित्यको श्रीवृद्धिका लागि सतीसाल झैँ रहनुभई साहित्यिक योगदानबाट सिन्धुलाई चिनाउने युगीन साधक श्री चन्द्रप्रसाद न्यौपानेलाई जुगलको काखमा जुगलकै आँगनमा अभिनन्दन गर्न पाउँदा हामी हर्ष विभोर भएका छौँ ।
नेपाली साहित्यलाई उचाइमा पुर्‍याउन लाखौँ पङ्क्तिहरू रचेर पालुवामा रहेको सिन्धु साहित्यलाई उज्यालोको खोजीमा घुमफिर गर्दै मान्छेको यात्रालाई चन्द्रमामा पुर्‍याएर एउटा नयाँ युगको घोषणा गर्ने तपाईं वास्तविक सिन्धु साहित्यको अभिभावक हुनुहुन्छ सिन्धुपाल्चोकको लिखित साहित्यको १२० वर्षको इतिहासमा यो भूमिमा गीतल गजल, कविता मात्रै हैन महाकाव्य एवम् वृहत्तरकाव्यद्वारा सुसज्जित गराउनुभएको यथार्थ कतै छिपेको छैन । साहित्य लेखनीबाटै समाज विकासका यहाँको योगदान अतुलनीय छ । अक्षर खेतीका क्रममा समाज परिवर्तनका लागि तन, मन, वचन र कर्मले सदैव क्रियाशील रहनुभएका तपाइँलाई ‘जुगल साहित्य सम्मान’बाट अभिनन्दन गर्न पाउँदा हामी निकै गौरवान्वित भएका छौँ ।
हो, दसकौँदेखि सिन्धु साहित्यका लागि तन, मन, वचन र कर्मले क्रियाशील तपाईंका हात अझै थाकेका छैनन् । तपाईंका साहित्य विभिन्न विधा बनेर बगिरहेको छ– जसरी इन्द्रावती, सुनकोसी अनि ब्रह्मायणी बगिरहेका छन् । हामी तपाईंका नाम लिएर सिन्धु साहित्यमा गर्विलो छाती फुलाउन सक्ने यसकारण भएका छौँ कि अहिले पनि तपाईंका शब्दहरू विभिन्न भाव, बिम्ब र प्रतिक बनेर यो माटोमा फुलेका छन् कथा, कविता अनि नाटकहरू बनेर । तपाईंका कालजयी हस्ताक्षर सिङ्गो सिन्धु साहित्यका लागि पथप्रदर्शक बनेको छ ।
साहित्यका सबैजसो विधामा कलम चलाएर आम भुईंमान्छेले बुझ्ने सरल, सरस शब्दहरूको संयोजनले जीवनजगत्मा चेतनाको लैस लगाएको हाम्रो ठम्माइ छ । हो, जीवनका अनेकौँ घुम्तीका अफ्ठ्याराहरूलाई पार लगाउँदै साहित्यको उत्थान, विकास तथा संरक्षणमा अहोरात्र लाग्नुभएका सिङ्गो सिन्धु साहित्यका अभिभावक, पथप्रदर्शक तपाइँ श्री चन्द्रप्रसाद न्यौपानेलाई ‘जुगल साहित्य सम्मान–२०७९’ द्वारा अभिनन्दन गर्दछौँ ।

माधव सापकोटा सुबोध, प्रमुख अतिथि
प्रतिनिधि सभा सदस्य, सिन्धुपाल्चोक ।

ओमप्रकाश उप्रेती, प्रिन्सिपल

आर.बि.कटुवाल, अध्यक्ष

मिति स् २०७९ साल फागुन २९ गते ।

प्रतिक्रिया