जित्यो नेपाल, जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउने, प्रधानमन्त्री प्रचण्डको बधाई

अन्तत नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको निर्णायक खेलमा ऐहिकासिक जित हात पारेको छ ।

२ चैत, काठमाडौं । अन्तत नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको निर्णायक खेलमा ऐहिकासिक जित हात पारेको छ ।
युएइले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याट गरेको नेपालले निकै फितलो सुरुवात गरेपछि धेरैले आशा मारेका थिए । पहिलो रोजाइका ब्याट्सम्यानहरु धमाधम आउट भएपछि झनै निराशाकाबीच हज्जारौं समर्थकले त्रिवि क्रिकेट मैदानमा खेलाडीलाई हौसला दिइरहेका थिए । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग -२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएइले टस जितेर पहिले ब्याट गरेको थियो । उसले ३१० रनको विशाल स्कोर बनाउँदा नै नेपाली खेलप्रेमि झस्किएका थिए । तर मध्य क्रममका ब्याट्सम्यान गुल्सन झाको ब्याटका अघि युएइका खेलाडीको केही चलेन । उनको विष्फोटक ब्याटबाट नेपालले डीएल डकवर्थ लेविस नियम अनुसार जित निकालेको हो । नेपालले ९ रनले जित्दा गुल्सन हाई हाई भए । गुल्सनले एकै ओभरमा निकालेको २० रन नै नेपालको जितका लागि मुख्य कारण बन्यो ।
त्यस अघि विहान खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्रिकेट मैदानमा पुगेका थिए । जितपछि प्रधानमन्त्रिले खुसी व्यक्त गर्दै खेलाडी, प्रशिक्षक र क्यानलाई बधाई ज्ञापन गरेका छन् । उनले भनेका छन् ‘आइसिसी क्रिकेट विश्वकप लिग २ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई ।’ जितसँगै विश्वकप लिग-२ को तेस्रो स्थानमा उक्लिएको नेपालले अब जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल खेल्न पाउने छ ।

प्रतिक्रिया