सिन्धुपाल्चोक : स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी पहिलो

जिल्लाका १० वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा ४ वटा क्याम्पसमा जित हासिल गरेर अखिल (क्रान्तिकारी) पहिलो भएको छ।

६ चैत, सिन्धुपाल्चोक । जिल्लाका १० वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा ४ वटा क्याम्पसमा जित हासिल गरेर अखिल (क्रान्तिकारी) पहिलो भएको छ।
आइतबार भएको स्ववियु निर्वाचनमा जलबिरे भ्याली क्याम्पस जलबिरेमा सभापति पदमा अखिल (क्रान्तिकारी) का उम्मेदवार अच्युत अधिकारी विजयी भएका छन। ने. वि. संघका उम्मेदवार सुदेश ढकाललाई ३० मतान्तरले पछि पार्दै अधिकारी विजयी भएका हुन।
भ्याली क्याम्पसको १ सय ९१ कुल मतदाता मध्ये १८१ मतदाताले भोट हालेका थिए। अधिकारीले ७९ मत पाउदा ने. वि. संघका ढकालले ४९ मत पाएका हुन् भनेअर्का प्रतिस्पर्धी अनेरास्ववियुका दिनेश गोलेले ४६ मत पाए थिए। अखिल (क्रान्तिकारी) बाटै सचिवमा बिक्रम भट्टराई, कोषाध्यक्षमा दीपा सापकोटा र सदस्यहरुमा रिता बि.क. कृष्णकुमारी गोतामे र अस्मिता श्रेष्ठ निर्वाचित भएका हुन् ।
त्यस्तै जुगल बहुमुखी क्याम्पस साँगाचोकमा पनि अखिल (क्रान्तिकारी) बाट सभापतिमा सुदर्शन अर्याल विजयी भएका छन् । ने.वि.संघ र अनेरास्ववियु को संयुक्त प्यानलका सभापति उम्मेदवार नविन गिरिलाई २५ मतले पछि पार्दै अर्याल विजयी भएका हुन। त्यस्तै अखिल (क्रान्तिकारी) बाटै सचीवमा मन्जु नेपाल, कोषाध्यक्षमा मनिला लामा, सदस्यहरुमा सुस्मिता तामाड, अनिस गिरी र कुसुम तामाड विजयी भएका हुन् । समानुपातिकतर्फ पनि अखिल (क्रान्तिकारी) कै सदस्यहरु विजयी भएका छन् ।
हेलम्बुको मेलम्ची भ्याली क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा वामपन्थी विद्यार्थीहरुको संयुक्त प्यानल विजयी भएका छन् । सभापतिमा अनेरास्ववियुका पवनकुमार लामिछाने ७० मत ल्याएर विजयी भएका हुन भने उनका प्रतिस्पर्धी ने।वि।संघका रणजित कार्कीले ५१ मत प्राप्त गरे । सचिवमा अखिल (क्रान्तिकारी) का राजन गिरी ७२ मत ल्याएर विजयी भए । कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादीका प्रदिप गुरागाईं ७२ मत ल्याएर विजयी भएका हुन । सदस्यमा अनेरास्ववियु का गोकुल लामिछाने ७१, अखिल (क्रान्तिकारी) का सरिता ज्योती ६८ मत ल्याएर विजयी भएकी हुन भने क्रान्तीकारीकै सुन्तली तामाङ निर्विरोध निर्वाचित भएकी हुन।

अरनिको कलेज बाह्रबिसेमा ने.वि.संघबाट सभापति पदमा सन्दीप बस्नेत निर्वाचित भएका छन् । सचिवमा र कोषाध्यक्षमा भने अनेरास्ववियुले जितेको छ । सचिवमा सजान तामाङ र कोषाध्यक्षमा सबिना कार्की विजयी भएका हुन् ।

त्यस्तै ईन्द्रावति क्याम्पस मेलम्चीमा ने.वि.संघका सरोज बस्नेत र अनेरास्ववियुका किसन दुलाल दुवैलाई १ सय ८ मत प्राप्त भयो। त्यसपछि गोला प्रथाबाट सभापति चुनिने सहमति भएपछि गोला प्रथाबाट सभापतिमा अनेरास्ववियुका किसन दुलाल विजयी भएका हुन्। दुई सय ४२ मत खसेकोमा अन्य सचिव, कोषाध्यक्ष र सदस्य पदमा भने विद्यार्थीको संयुक्त प्यानल विजयी भएको छ।

यसअघि ५ क्याम्पसमा मनोनयन दर्ताकै दिन (फागुन २७ गते) सर्वसम्मत पदाधिकारी निर्वाचित भइसकेका थिए । जिल्लाका प्रमुख चौतारा बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अमृत श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । अनेरास्ववियु, ने.वि.संघ र समाजवादी विद्यार्थी संगठनले अन्य पदहरू लिएर सर्वसम्मत रूपमा स्ववियु निर्वाचित भएका छन् । सुनकोशी बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी हिरा थामी सभापतिमा निर्वाचित भइन् भने अखिल क्रान्तिकारी र नेविसंघले अन्य पदहरू लिए ।

ककलिङ क्याम्पस ठूलोपाखरमा अखिल (क्रान्तिकारी)का लक्ष्मण घिसिङ सभापति छानिए । त्यस्तै, ठोकर्पा सामुदायिक क्याम्पसमा ने.वि.संघकी सरस्वती जि.सी सभापतिमा निर्वाचित भएकी छन् ।उता सिन्धु भ्याली क्याम्पस भोटेचौरमा ने.वि.संघका सुरज चौलागाईं सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

यो नतिजासँगै सिन्धुपाल्चोकमा अखिल (क्रान्तिकारी) ले ४, अनेरास्ववियुले ३ र ने.वि.संघले ३ वटा क्याम्पसमा जित हाँसिल गरेको छ । दशमध्ये ४ वटा क्याम्पसमा जित हासिल गरेसँगै अखिल (क्रान्तिकारी) जिल्लाकै पहिलो संगठनको रुपमा दरिएको छ । अभयानन्द र पाँचपोखरी क्याम्पसमा भने स्ववियु निर्वाचन नै हुन सकेन ।

प्रतिक्रिया