संसदमा ढ्याप ढ्यापे समयको सट्टा नियमावलीमै ‘आकस्मिक समय’को माग

प्रतिनिधि सभा नियमावलीमा ढ्याप ढ्यापे समयको सट्टा नियमावलीमै 'आकस्मिक समय'को व्यवस्था गर्न संशोधन दर्ता भएको छ ।

९ चैत काठमाडौं । प्रतिनिधि सभा नियमावलीमा ढ्याप ढ्यापे समयको सट्टा नियमावलीमै ‘आकस्मिक समय’को व्यवस्था गर्न संशोधन दर्ता भएको छ ।
माओवादीका सांसद माधव सापकोटा ‘सुबोध’ले ‘प्रतिनिधि सभा नियमावलीको मस्यौदा समितिको प्रतिवेदन २०७९’ मा संशोधन प्रस्ताव दर्ता गराउँदै सो माग गरेका हुन् ।
बुधबार प्रस्ताव दर्ता गराउँदै उनले भनेका छन् ‘यस अघि प्रतिनिधि सभामा ढ्यापढ्यापे समयका रुपमा तजविजबाट प्रयोग हुँदै आएको समयलाई नियमावलीमा नै व्यवस्था गरी शून्य समय र विशेष समयको अघि आकस्मिक समय का रुपमा प्रयोगमा ल्याउने ।’ उनले थप ब्याख्या गर्दै भनेका छन् ‘सभा सञ्चालन अघि सभामुखसँगको परामर्शमा आकस्मिक समय निर्धारण गरी प्रयोगको व्यवस्था गर्ने’ ।
सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद सापकोटाले ‘कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार नियमावलीमा उल्लेख भए बमोजिम सभामुखले सभालाई व्यवस्थित रुपले अघि बढाउने काम गर्नु हुने छ’ भन्ने बाक्य थप गर्ने सम्बन्धमा पनि संशोधन हालेका छन् ।

प्रतिक्रिया