जनप्रतिनिधिको दबाबपछि नाका खोल्न कुटनीतिक वार्ता, वैशाख १८ देखि तातोपानी नाका भूकम्प अघिकै अवस्थामा सञ्चालनमा आउने

सहमति अनुसार हाल चीनबाट सामग्री ल्याउन एकतर्फि सञ्चालमा रहेको तातोपानी नाका आगामी वैशाख १८ गतेदेखि पूर्णरुपमा पहिले जस्तै सुचारु हुने छ ।

१६ चैत, काठमाडौं । सिन्धुपाल्चोक र देशकै लागि महत्वपूर्ण व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठक पछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको हो ।
सहमति अनुसार हाल चीनबाट सामग्री ल्याउन एकतर्फि सञ्चालमा रहेको तातोपानी नाका आगामी वैशाख १८ गतेदेखि पूर्णरुपमा पहिले जस्तै सुचारु हुने छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकपछि जारी विज्ञप्ति अनुसार तातोपानी नाकाबाट भूकम्प अघिकै अवस्थामा दुईतर्फि व्यापार र नागरिकको आवतजावत सूचारु हुने भएको छ ।
सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधको राजनीतिक र कुटनीतिक पहलकदमीले नाका सुचारु हुने पक्का पक्की भएको हो । नाकाको पूर्ववत् सुचारुको नारा लिएर चुनाबी मैदानमा होमिएका सापकोटाले निर्वाचित भए लगत्तै यसका लागि चौतर्फि प्रयत्न गरेका थिए ।
जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले वार्ता टोलिको नेतृत्व गरेका थिए । सो बैठकमा सीमा पारी व्यापार र जनताबीचको आवतजावतलाई अधिकतम स्तरमा सुचा गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ बाटो खोज्ने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।
भेटमा दुवै पक्षले २०२३ अप्रिल १ (१८ चैत २०७९) गतेदेखि रसुवागढी र केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता–जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति गरेका छन् । तातोपानी र झाङ्मु हुँदै दुईतर्फी व्यापार र मानव आवागमन मे १, २०२३ (१८ वैशाख २०८०) देखि सुचारु हुनेछ ।
छलफलमा नेपालको उत्तरी हिमाली क्षेत्रका सीमावर्ती जिल्लाहरूमा बसोबास गर्ने मानिसहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोगको स्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई पनि जोड दिएका थिए ।

नेपालको प्रमुख व्यापारिक तातोपानी नाका २०७२ साल वैशाख १२ को भूकम्प पछि बन्द भएको थियो । त्यसपछि चुनावी एजेण्डा बनाएका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा बन्द नाका खुलाइएको थियो । कोभिड १९ को संक्रमण पछि पुनः बन्द भएको नाका लामो समयपछि सिमित आयातसँगै एकतर्फि मात्रै खुलेको छ भने नागरिक आवतजावत गर्न प्रतिवन्ध छ ।
नाका पूर्ववत् सूचारु गर्न वर्तमान सांसद माधव सापकोटा सुबोधले निर्वाचित भएलगत्तै पुस ५ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर ज्ञापन पत्र बुझाउने कार्यको नेतृत्व गरेका थिए । उनले फागुन १२ गते संसदमा विशेष समय लिएर नाका खुलाउने विषयमा गम्भीरता देखाउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । नयाँ सरकार गठन पछि परराष्ट्र मन्त्रालय र कुटनीतिक नियोग मार्फत प्रयत्न गरिएको थियो । जनप्रतिनिधिको ध्यानाकर्षण पछि सरकारले नाका पूर्ववत सञ्चालनका लागि सचिवस्तरीय वार्ताको पहल गरेको हो ।

प्रतिक्रिया