सुप्रभात काव्यगोष्ठी सुसम्पन्न

१९ चैत, काठमाडौं । नागार्जुन साहित्यिक प्रतिष्ठानले रचना वाचन तथा सुप्रसिद्ध टिप्पणीकारद्वारा वाचित रचनामाथि टिप्पणी गरिने ‘सुप्रभात काव्यगोष्ठीको मासिक शृङ्खला’ सम्पन्न गरेको छ । शनिवार राजधानीको अद्वैतमार्गमा आयोजित उक्त गोष्ठीमा एक दर्जन स्रष्टाहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए ।
कार्यक्रमको दैलो उघार्दै मुक्तककार लीलाराज दाहालले रोचक र घोचक तीन मुक्तक, गङ्गा खतिवडाले गजल, रामकृष्ण आचार्यले हात्ती आयो हात्ती आयो फुस्सा, कवि प्रकाश सिलवालले इतिहासको अर्थनीति, लक्ष्मणदेव पाण्डेले म राजनेता र गजलकार पुरूषोत्तम रसुवाले मान्छौँ अनौठो शीर्षकीय गजल वाचन गरे । त्यसैगरी कवि रूबी सत्यालले हाकुने, जयराम बिडारीले घिस्रँदो छ अवस्था, माधव घिमिरे अटलले अनुत्तरित यक्षप्रश्न, प्राज्ञसभा सदस्य चेतनाथ धमलाले रामशाहपथको अज्ञात घरबाट, प्रतिष्ठानका महासचिव युवराज नास्तिकले नारा, अध्यक्ष दिल पौडेलले साला सिंहदरबार शीर्षकीय कविता प्रस्तुत गरेका थिए ।
वाचित कविताहरूमाथि कवि तथा समालोचक डा. रमेश शुभेच्छुले मिहिन शल्यक्रिया गरे । प्रत्येक सिर्जनाको अलगअलग टिप्पणी गर्दै उनले वाचित कविताहरू समकालीन युगको भरभराउँदो आवाज भएको बताए । सिर्जनाहरूमा मूलतः सामाजिक विसङ्गति, यथास्थितिप्रति आक्रोश र गजलहरूमा पनि सामाजिक चेतना देखिएको बताए । उनले शार्दूलविक्रीडित छन्दको आफ्नो सिर्जना रातो अचानो वाचन गरी उपस्थित सर्जकहरूलाई मन्त्रमुग्ध पारेका थिए ।
कार्यक्रमको अर्को शृङ्खला आगामी बैसाखको तेस्रो शनिवार उही स्थान र समयमा आयोजना हुने अवगत गराउँदै अध्यक्ष दिल पौडेलले कार्यक्रमको बिट मारेका थिए ।

प्रतिक्रिया