प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्यहरू सार्वजनिक

प्रधानमन्त्री पुष्प कमल दाहाल  ‘प्रचण्ड’ नेतृत्वको सरकारले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ ।

२० चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल  ‘प्रचण्ड’ नेतृत्वको सरकारले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीको सचिवालयद्वारा सार्वजनिक कार्यहरु पढ्नुहोस् :

२०७९ मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जनादेशअनुरुप मिति २०७९ साल पुस १० गते विभिन्न राजनीतिक दलको सहभागितामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भई पुस ११ गते सम्माननीय प्रधानमन्त्रीले कार्यभार सम्हाल्नुभएकोमा चैत्र २१ गते सरकारले कार्यप्रारम्भ गरेको सय दिनको अवधि पूरा हुँदैछ । सम्माननीय प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिलाई सरकारको प्रमुख प्राथमिकताका रुपमा सुत्रीकृत गर्दै अगाडि बढ्नुभएकोमा यस अवधिमा मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरुको सम्बोधन, सामाजिक न्यायको प्रवर्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले सरकारले आफ्ना कामकाजहरु अगाडि बढाइरहेको छ ।

सरकार गठन भएलगत्तै सत्ता साझेदार दलहरुको साझा धारणाको प्रतिनिधित्व हुने गरी मिति २०७९ पुस २५ गते नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम जारी गरिएको थियो । त्यसकै पृष्ठभूमिमा पुस २६ गते प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभामा वर्तमान सरकारलाई अभूतपूर्व विश्वासको मत प्राप्त भएपश्चात् राजनीतिक वृत्तमा राष्ट्रिय सहमतिको परिदृश्य र औचित्यसमेत देखा पर्‍यो । सम्माननीय प्रधानमन्त्रीज्यूको राष्ट्रिय सहमतिका निम्ति निरन्तर प्रयासका बाबजुद यसबीचमा कतिपय राजनीतिक दलले सरकारबाट बाहिरिने निर्णय गरेपश्चात् सत्ता समीकरणमा फेरबदल आएकाले सोहीअनुरुप मन्त्रिपरिषद विस्तारका साथै सरकारका नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा केही हेरफेर हुने गरी गृहकार्य अगाडि बढाइएको छ ।

सम्माननीय प्रधानमन्त्रीले पुस २६ गते र चैत्र ६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने सन्दर्भमा गर्नुभएको सम्बोधन, सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम, सम्माननीय प्रधानमन्त्रीले नेपाल सरकारका सचिवहरुलाई दिनुभएको निर्देशनलाई समावेश गरी तयार पारिएको एकीकृत कार्ययोजनाका आधारमा वर्तमान सरकार अगाडि बढिरहेको छ । निर्धारित प्राथमिकतामा केन्द्रित रही सय दिनको अवधिमा सरकारले सम्पादन गरेका प्रमुख कार्यहरू र हासिल गरेका प्रमुख उपलब्धिहरूको संक्षेपीकरण देहायबमोजिम छ ।

(क)   शासकीय सुधारका क्षेत्रमा संसदको अधिवेशनमा प्राथमिकताका साथ पेश गरिने २८ विधेयक, प्राथमिकताका साथ तर्जुमा गरिने १० नियमावली र नीति लगायत संरचनागत परिवर्तन र सुधारका लागि यातायात व्यवस्थापन प्राधिकरण लगायत विभिन्न आयोग, कार्यदल र समितिहरुको गठन र प्रभावकारी जनसेवाका क्षेत्रहरुको पहिचान र कार्ययोजना लगायत समाविष्ट छन् ।

(ख)   आर्थिक तथा पूर्वाधार राजश्व चुहावट नियन्त्रण र संकलनमा वृद्धि, चालु खर्च कटौती, आर्थिक पुनर्संरचनाका लागि आवश्यक संरचनागत सुधार, उद्यमशीलता विकास, स्वदेशी उत्पादनको प्रवर्धन र रोजगारी सिर्जनाका लागि मेक इन नेपालको अवधारणा, ठूला आयोजनाहरुको नतिजामूलक सूचक तयार पारी कार्यतालिका बनाई अनुगमन गर्ने, खाद्य आवास तथा खानेपानीको क्षेत्रका पूर्वाधार, उर्जा विकास, सार्वजनिक यातायात, सार्वजनिक यातायात र सडक पूर्वाधार, सुकुम्बासी समस्या समाधानको दीर्घकालीन कार्ययोजना लगायतका विषय समाविष्ट छन् ।

(ग)   सामाजिक विकासको क्षेत्रअन्तर्गत गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारको विकास, स्वस्थ नेपाली निरोगी नेपालको अवधारणा, मर्यादित श्रम र सामाजिक संरक्षण सम्बन्धि विषय समावेश छन् ।

(घ)   अन्तर्सम्बन्धित विषयअन्तर्गत महिला सहभागिता, सशक्तिकरण, समावेशिता, शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय, संघीयता कार्यान्वयन र जनताको हितमा राज्य संयन्त्रको परिचालन लगायतका विषयहरु समाविष्ट छन् ।

क्र.सं.प्रमुख परिसूचक२०७९ आषाढसम्म२०७९ पौषसम्म२०७९  माघसम्म
 शोधनान्तर स्थिति (रु अर्बमा)२५५.२६ घाटामा९७.१० बचतमा१३३.२१ बचतमा
 चालू खाता घाटा (रु अर्बमा)६२३.३३२९.४७२९.६४
 विप्रेषण आप्रवाह (रु अर्बमा)१००७.३१५८५६९०
 विदेशी विनिमय सञ्चिति (अमेरिकी डलर अर्बमा)९.५४१०.३०१०.५०
 विदेशी विनिमय सञ्चिति पर्याप्तता (वस्तु तथा सेवाका लागि आयात धान्न पुग्ने महिना)६.९९.१९.४

(स्रोत : अर्थ मन्त्रालय)

माथि उल्लेखित तथ्यहरूले यो सरकारले सय दिनको छोटो अवधिमै पनि राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको कार्यान्वयन, सार्वजनिक सेवामा नागरिकहरूको सरल र सहज पहुँचलाई सुनिश्‍चित गर्ने तथा समग्र शासकीय सुधारका दिशामा महत्त्वपूर्ण पाइलाहरू चालेको कुरालाई पुष्टि गर्दछन्। यसबाट सार्वजनिक सेवालाई चुस्त बनाउँदै अर्थतन्त्रलाई सही दिशामा अभिमुख गराउन तथा मुलुकलाई शान्ति, स्थिरता, सुशासन र अग्रगमनतर्फ अघि बढाउन सहयोग पुगेको सरकारको विश्‍वास रहेको छ। यद्यपि नागरिकको विकास, समृद्धि र सुशासनप्रतिको उच्च अपेक्षालाई पूरा गर्न आगामी दिनमा थप प्रतिबद्धता र समर्पणभावका साथ काम गर्नुपर्ने खाँचो छ।  सरकार त्यसतर्फ सचेत छ।

अन्त्यमा¸ यो सरकार सबैसँग सल्लाह, छलफल र सहकार्य गर्दै तथा सबैको पृष्ठपोषण लिँदै मुलूकलाई शान्ति, प्रगति, स्थिरता र अग्रगमनको बाटोमा अघि बढाउन प्रतिबद्ध छ। जनताका आशा, अपेक्षा र विश्‍वासलाई यथाशीघ्र मूर्त रूप दिन सरकार क्रियाशील छ।  आज सबै राजनैतिक नेतृत्व तथा सार्वजनिक प्रशासकहरूमा विकास-मैत्री, सेवाग्राही-मैत्री र लगानी-मैत्री मानसिकता विकास गर्न आवश्यक देखिएको छ। यो सरकारले नेपालको संविधानमा उल्लिखित नागरिकका हक अधिकारलाई संरक्षण गर्न, तिनको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवनस्तरमा सुधार ल्याउन¸ शासन प्रणालीमा नागरिकको सर्वोच्चता स्थापित गर्न तथा संविधानमा उल्लेखित राज्यका नीति र दायित्वहरूलाई प्रभावकारी तवरमा कार्यान्वयन गरी आम नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई यथाशीघ्र पूरा गर्न आफ्नो सम्पूर्ण शक्ति परिचालित गर्दै आएको छ। आगामी दिनमा पनि नेपाली जनताको हित र राष्ट्रको समृद्धिको लागि सरकार निरन्तर समर्पित र क्रियाशील हुनेछ।

प्रतिक्रिया