पर्यटन प्रवर्धनका लागि जुगल बेसक्याम्प ‘ने-पेमाछाल’मा विविध कार्यक्रम

संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल अन्तरगतका आठ हिमालको आधार शिविर नजिक ने-पेमाछाल उपत्यकामा पर्यटन प्रवर्धनका विविध कार्यक्रम गरिएका छन् ।

२ वैशाख, सिन्धुपाल्चोक । संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल अन्तरगतका आठ हिमालको आधार शिविर नजिक ने-पेमाछाल उपत्यकामा पर्यटन प्रवर्धनका विविध कार्यक्रम गरिएका छन् ।
शनिबार ने-पेमाछालमा आयोजित पर्यटन प्रवर्धन कार्यक्रममा पुगेर निवर्तमान सभामुख एवं सो क्षेत्रबाट लगातार तीन पटकका जनप्रतिनिधि अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमाल कुमार श्रेष्ठलगायत हौसला प्रदान गरे । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने-पेमाछालमा लामा गुरुहरुले पूजा, जिन्लब, डुप्सी ,छेवाङ तथा धार्मिक पर्यटन प्रवर्धनका लागि विधि पुर्वक विविध कार्यक्रम गरेको सिन्धु पर्यटन परिषद्का सचिव मिलम तामाङले जानकारी दिए
जिल्लाको पर्यटन प्रबर्द्धनका लागि भन्दै जुगल गाउँपालिकाको आयोजनामा नयाँ बर्षको अवसरमा ने-पेमाछालमा प्रवर्धनात्मक कार्यक्रम आयोजना गरिएको जुगल गाउँपालिकाका अध्यक्ष स्याङ्बोले जानकारी दिए । कार्यक्रममा सहभागीता जनाउन चार दिन अघि नै हिंडेका आन्तरिक पर्यटक ने-पेमाछालमा जम्मा भएका थिए । अतिथिहरु भने शनिबार दिउँसो काठमाडौंबाट हेलिकोप्टर चढेर कार्यक्रम स्थल पुगेका थिए ।
गाउँपालिका आफैंले छानेका यात्रीहरुलाई पालिका प्रमुख स्याङ्बो र उपाध्यक्ष श्रेष्ठले चनौटे स्थित रत्नराज्य माविबाट चार दिन अघि बिदाई गरेका थिए ।
थप पाँच चुचुराको आरोहण खुलेपछि थपियो उत्साह


२०७५ सालबाट आरोहण खुल्ला गरिएको जुगल अन्तरगतका अन्य हिमाल समेत खुल्ला गर्ने सरकारी निर्णयले यस क्षेत्रमा खुसी थपिएको छ । काठमाडौंबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तब्यका हिमाल आरोहण खुल्ला गर्ने निर्णयले सिन्धु पर्यटनमा थप टेवा पुग्ने विश्वास सम्वन्धित क्षेत्रका विज्ञहरुको छ । गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जुगल हिमाल अन्तरगत ‘जुगल १’ देखि ‘जुगल ५’ नामाकरण भएका थप पाँच चुचुरा आरोहण खुल्ला गर्ने र पाँच वर्ष सम्म शुल्क नलिने निर्णग गरेको थियो । जुगल आरोहण खुल्ला गर्न सुरुमा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र पछिल्लो समयमा संघीय सांसद माधव सापकोटा ‘सुबोध’ र प्रदेश सभा सदस्य सरल सहयात्रीले पहल गरेका थिए ।

प्रतिक्रिया