लोक गायक प्रकाश सपुत ‘सकम्बरी’ पछि फेरि विवादमा

 लोक दोहोरी गायक प्रकाश सपुत फेरि विवादमा तानिएका छन् ।

४ वैशाख, काठमाडौं । लोक दोहोरी गायक प्रकाश सपुत फेरि विवादमा तानिएका छन् । उनको भर्खरै सार्वजनिक ‘सकम्बरी’  गित विवादमा आएको हो । गितमा समेटिएको भिडियो सामग्रीले उनी पुनः विवादमा तानिएका हुन् ।

एउटा गाउँको सामान्य परिवारबाट सहर छिरेकी एक युवतीले आफ्नो सपना साकार पार्न देहव्यापार गरेको दृश्यका कारण उनको तिब्र आलोचना भइरहेको छ । सामाजिक सञ्जाल युटुबबाट सार्वजनिक उनको गितमाथि हज्जारौं टिप्पणी भएका छन् । अधिकांश टिप्पणीकारले उनलाई गालि गरेका छन् भने केहीले समर्थन गरेका छन्।

गितले तर्क, वितर्क र बहस समेत सृजना गरेको छ । ‘के एउटा सफल आत्मनिर्भर नारी बन्नको लागी शरिर नै बेच्नुपर्छ ? महिलाहरु आफुमा केहि होइनन्, उनीहरुको आफ्नो पहिचान हुन्न र ?  टिप्पणीकर्ताले तर्क गरेका छन् ।  “सबै नारी त्यस्तो नहोलान तर सपना पुरा गर्नकै लागी देहब्यापार गरेका नारीहरु पनि समाजमा छन। अभावमा हुर्केका छोरीहरुको बाध्यता र कमजोरीको हुनेखाने इज्जत भएका भनौदाहरुले कसरी फाइदा उठाउछन भन्ने कुरा गितमा देखाइएको छ” समर्थकबाट तर्क आइरहेको छ।  

सपुतको अगाडि रिलिज भएको ‘पिर’ बोलको गित पनि विवादमा परेको थियो। उक्त गितमा पनि उनले पूर्व विद्रोही युवतीले देहव्यापार गरेको देखाएका थिए। त्यति वेला धेरै विरोध आएपछि उनले माफी मागेर त्यो गित पुन: सम्पादन गरेर बजारमा ल्याएका थिए। फेरि पनि उस्तै किसिमको गित बजारमा ल्याएपछि पटक पटक नारीको स्वाभिमानमा ठेस पुगेको दर्शकहरुले बताएका छन् ।

सामाजिक अभियान्ता देवकी तिमल्सिना आफ्नो फेसबुकमा लेख्छिन् ,” फगत कला सबैथोक होइन । आजका कतिपय ढोँगी विचार पनि विचारको नाममा विचार हो।वास्तविक व्यवहार बिनाको कला, विचार, सिद्धान्त  र विधि पनि फगत नै हुनेगर्दछ । एकदुई दिन देखि बजारमा प्रकाश सपुतको गीत “सकम्बरी” आयो । सुरुवातमा टिकटकमा बजेको एउटा हरफ सुने विम्बात्मक लाग्यो। सबैतिर छ्याप्छ्याप्ती भएपछि पुरै भिडियो हेरेँ हेर्दाहेर्दै नमज्जा लाग्यो। यतिबेला म दर्शनमा गइन। सबैभन्दा पहिला आफुलाई सकम्बरी बनाएर हेरे चित्त बुझ्दै बुझेन। अनि पुरुष प्रधान समाजमा फर्के केही परम्परागत मानकहरु सम्झेँ केही विचारणीय पक्ष लाग्यो।हामी जहिल्यै पनि हामी भएर मात्रै म हुने हो र म भएर हामी हुने हो ? यो प्रश्नले घोत्ल्यायो। यद्यपि समाजलाई बचाउने सहि विचारले नै हो।गीतको शब्द, लय, बिम्ब र बनौट समाजकै ऐना हुन् तर हामीले सँधै समाज र नारीलाई फुटेकै आँखाले चर्किएकै ऐनासँग मात्रै तुलना गरिरह्यौ  कि? आंशिक रुपमा यो गीत बोल्ला तर आम रुपमा यो गीत बोल्न सकेन।

हाम्रो विगतको इतिहास देखि वर्तमानको अवस्था हेर्दा , चेतनाको स्तर र मूल्यबोधको सौर्न्दर्य बुझेर नै सबै क्षेत्रको धारणा बनाउँदा राम्रो हुन्छ कि भन्ने लाग्दछ।महिलाहरु गीतमा देखाइएको जस्तो कमजोर मात्रै छैनन् ।बलवान्, आत्मनिर्भर , चेतनशील, श्रमजीवि र सिर्जनशील पनि छन्।आजको यो समयमा बाँच्नकै लागि यौनजन्य पेशा मात्रै छैनन् ।विभिन्न खाले सीपमूलक कार्यक्रमहरु प्रसस्त छन्। सबैभन्दा बढी पीडा महत्वाकांक्षाले भन्दा पनि अभावले हुने हो।तर जीवनका आधारभूत सत्यहरुप्रति निष्ठा व्यक्त गरि श्रम र कलाको संयोजन गर्दै आजका महिलाहरु बाँचिरहेका छन् ।जुनसुकै क्षेत्रमा पनि हामी नकारात्मक कुराहरुको बढी चर्चा गर्छौ तर तिनै महिलाहरुको साहस, संघ्रर्ष , वलिदान, त्याग , आत्मनिर्भरता र मर्मका कुरामा हामी किन लेख्न र बोल्न सक्दैनौं ।के आजको यूग पद, पैसा र पावरको मात्रै हो ? चेतना, सौर्य , र सीपको होइन ? हामी पूजीँवादी प्रवृति सँगसँगै उपभोक्तावादी, प्र योगवाद  र उपयोगितावादी प्रवृतिबाट बच्न समेत जरुरी देखिन्छ ।यसर्थ जुनसुकै विधाको कुरा गर्दा मूल्य र शिर बचाएर मात्रै लेखिनुपर्दछ र देखाउनुपर्छ ।त्यसैले यो गीतको चर्चा भइरहँदा केही विषयमा सोचिनुपर्छ कि भन्ने लाग्दछ।हामीले समाजमा विकल्प खोज्यौँ र खोज्ने वातावरण तय गर्यौ भने यस्ता सिर्जनाहरुले ठाउँ पाउने थिएनन् कि अथवा महिलाहरुले समेत यस्तो किसिमको सास्ती भोग्नु पर्देनथ्यो कि?समाजको तितो कुराहरु किन महिलाहरुलाई मात्रै आइलाग्छन् के समाजमा वेथिति पुरुषहरुले भोगेका छैनन्  होला र?यसका निबारणका लागि सम्बन्धित सबैले पहल गर्ने कि?केही परम्परागत मानक भत्काउनका लागि समेत हामी लाग्नुपर्छ कि कसो पो हो?प्रकाश सपुतले यो गीत नजानेर ल्याएका चाहिँ पक्कै होइनन् ।समाजमा भएका प्रतिनिधि कुरालाई आम नबनाउन अनुरोध हो बस”

पत्रकार गिता चिमोरियाले फेसबुकमा लेखेकि छन् “प्रकाश सपुतहरूलाई कसैले ओरेन्टेसन गरे हुने…महिलाहरूले आफ्नो पसिना, मेहनत र ट्यालेन्ट बेचेर बुलाकी मात्रै होइन । रातो स्कुटर र डाइमन्ड लगाउने क्षमता राख्छन् ।

‘राती तिरै काम के को होला नि ?’  

– डाक्टर/नर्स अस्पतालको ड्युटी सकाएर आएका हुनसक्छन् ।

– पत्रकार समाचार लेखेर/पढेर फर्केका हुनसक्छन् ।

– नेता/मन्त्री रहेछन् भने क्याबिनेट, parliament वा दलकै बैठक सकेर आएका होलान् ।

– प्रहरी रहेछन् भने सुरक्षाको जिम्मेवारी पूरा गरेर फर्केका हुनसक्छन् ।

अन्य धेरै त्यस्तो प्रोफेसन छ, जहाँ १०/५ को ड्युटी खोजेर हुँदैन ।

राति हिंड्ने सबै महिला शरीर बेचेर फर्केका हुँदैनन् ।

प्रश्न तिनीहरूलाई गर, जो महिलाको सफलतालाई स्वीकार गर्न सक्दैनन् । उनीहरुको मेहनत र क्षमतामा प्रश्न गर्ने ठाउँ नभेटेपछि कुरा काट्ने अनेक उपाय खोज्न थाल्छन् । 

अनि अर्को कुरा, सिनेमा/मोडलिङ क्षेत्रमा लागेका महिलाले राम्रो अवसर पाउन/चर्चित हुन शरीर बेचेकै हुन्छन् ? वा बेच्नु नै पर्छ ? त्यो क्षेत्रमा कलाको कुनै मुल्य छैन ? मेहनत र संघर्षको बाटो छैन ? यदि होइन भने यो गलत भाष्य किन निर्माण गरियो ?”

एक समर्थकले लेखेका छन् ‘परिवारको जिम्मेवारी बोकेकी र सपना सजाएर बजार छिरेकी एक पात्रको कथामा बनाइएको हो, नकी पापाकी परि हो सकम्बरी। आर्थिका हिसाबले खान लगाउन पुग्ने 2+ पढाई गरेको यतै केही गर्ने होइन भने अमेरिका युरोप तिर जान सक्ने हैसियत भएको पात्रको कथामा बनाइएको होइन । बाध्यता र कमजोरीको फाइदा कसरी उठाउँछन भन्ने कुरो देखाइएको छ यो गीतमा । धेरैलाई मनमा प्रश्न उठ्न सक्छ विशेष त पुरुषलाई । हरेक क्षेत्रमा राम्रा नराम्रा पक्ष हुन्छ । प्रकाश सपुत कला क्षेत्रको भएकाले उनले त्यहीं क्षेत्रको नराम्रा पक्षको विषय मा यतिको कलात्मक प्रस्तुती दिनुभनेको राम्रो कुरा हो ।. हरेक क्षेत्रमा तपाइको मान्छे छ पावर छ भने मात्रै हो इज्जत पाइने नत्र पुरुष को पैसा अनि महिलाको बैश सकेसम्म जसरी हुन्छ हत्याउने अलगै समूह छन हरेक क्षेत्रमा । तपाइको साथमा आमाबुबा छ्, घर छ खान लगाउनको दुख छैन 2-4 महिना काम नगर्दा नि पेट भोको हुदैन वर्षों सम्म असफलता हुदा नि फरका पर्दैन भने तपाइ भाज्ञमानी हो तर समाजमा यस्तो बाध्यतामा जिउनुपरेको मान्छेहरू पनि छन जो भविस्य, बाध्यता, परिवारको जिम्मेवारी सबैमा रुमलिएर बस्नुपरेको फूलमाया हरू छन जस्लाइ अनेक बहानामा सकम्बरी बनाउन तत्पर छन केही समूह अनि सकम्बरी बन्न विवश अनि बाध्य छन केही निरिह फूलमाया । पापाकी परिहरू अनि. गीतमा देखाइएको आदर्नीय सूनिल थापाको पात्र स्वभावको ब्यक्तिहरूलाइ कला मन नपर्नु स्वभाविक हो । साथै फूलमाया नचाएर ब्यापार चलाउने । अनि. फूलमायालाई सकम्बरी बनाएर अलपत्र पार्दै. धन्धा चलाउनेको लागी पनि गीत मन नपर्नु स्वभाविक हो ।”

कला, साहित्य, संस्कृति हाम्रा सम्पति हुन् । यिनिहरुले दिने सन्देशले समाजमा सकारात्मक वा नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

गित सार्वजनिक भएपछि केही जिज्ञासा भने पक्कै आएका छन् । प्रकाश सपुत आफ्ना गितमा किन महिलाको अन्तिम विकल्प देहब्यापार देख्छन ? किन अंशलाई हेरेर समग्रको भाष्य निर्माण गर्छन ? नेपाली समाजमा यो गितको योगदान कस्तो रहला ? सपुतलाई तक्मा पहिर्याइरहेकाहरु नेपाली समाज अफगानिस्तानका तालिबानी वा इराकी शासकको मनोदशामा छ छैनन ? के सपुत नेपाली नारीले बुर्का लगाउन भन्नेतर्फ लान चाहन्छन ? 

प्रतिक्रिया