वैशाख १८ मा नाका खोल्न कोदारीमा नेपाल -चीनका अधिकारीहरुबीच बैठक

तातोपानी नाका पूर्ण रुपमा संचालनमा ल्याउन नेपाल र चीनका अधिकारीहरुबीच कोदारीमा बैठक सम्पन्न भएको छ।

५ बैशाख, सिन्धुपाल्चोक। तातोपानी नाका पूर्ण रुपमा संचालनमा ल्याउन नेपाल र चीनका अधिकारीहरुबीच कोदारीमा बैठक सम्पन्न भएको छ।
सोमबार नेपाल तर्फका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा निकायका प्रतिनिधिहरु र मित्र राष्ट्र चीन तर्फका सुरक्षा निकायका प्रतिनिधिहरुबीच सीमा नाका सुचारु गर्ने सन्दर्भमा छलफल भएको हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, प्रमुख प्रहरी उपरीक्षक बालनर्सिङ राणा लगायतको उपस्थिति थियो। उक्त बैठकमा यहि वैशाख १८ ( मे १) देखि सिमा नाका पूर्ण रुपमा संचालनमा आउने, दुवै देशबिच कोभिड संक्रमण सम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तर्देशीय सिमाना सुरक्षा ब्यवस्था अझ मजबुत बनाउने, अपराध नियन्त्रण र न्युनिकरणमा संवेदनशील रहि आवश्यकता अनुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक प्वाइन्ट राखी कडा चेक जाँचको ब्यवस्था मिलाउने विषयमा विस्तृत कुराकानी भएको छ । यस्तै सिमा सुरक्षा सम्बन्धी सम्पूर्ण सूचना तत्कालै आदान प्रदान गर्ने, बिगतमा जस्तै आगामी दिनहरुमा समेत आपसी सुरक्षा सम्बन्धी काम कारवाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदनशील रहेर सुरक्षा ब्यवस्थालाई मजबुत बनाउने निर्णय भएको छ ।
नेपाल र चिनियाँ अधिकारीहरुका बीचमा वैशाख १८ मा नाका खोल्ने सहमती भएपछि व्यवस्थापकीय कामका लागि वैशाख १ देखि बन्द छ ।
भूकम्प, भोटेकोसी बाढी र कोरनाका कारण पटक पटक बन्द हुँदै आएको नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउन निवर्तमान सभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विशेष पहल गरेका थिए । सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले चुनावमा नाका पूर्ण रुपमा खुलाउने प्रतिवद्धता जनाएका थिए । उनले पटक पटक सदनमा सो विषय उठाएर सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया