लिपिङ क्षेत्रमा अध्यागमन कार्यालय र कर्मचारी व्यवस्था गर्न सांसद सापकोटाद्वारा सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुबोध'ले सिन्धुपाल्चोकको लिपिङ क्षेत्रमा नेपालतर्फ अध्यागमन कार्यालय र कर्मचारीको व्यवस्था गरी मानव आवत जावतको कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

५ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले सिन्धुपाल्चोकको लिपिङ क्षेत्रमा नेपालतर्फ अध्यागमन कार्यालय र कर्मचारीको व्यवस्था गरी मानव आवत जावतको कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा सम्बोधन गर्दै सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद सापकोटाले नेपाल -चीन व्यापारिक नाका तातोपानी /लिपिङमा अध्यागमन कार्यालय र कर्मचारी नभएकोबारे ध्यानाकर्षण गराएका हुन् ।
संसदमा उनले भने ‘वैशाख ४ गते नेपाली र चिनियाँ पक्षबीच चीनको भूभाग लिपिडमा काउन्टरपार्ट बैठक सम्पन्न भएको छ । मे १ अर्थात यही वैशाख १८ गतेबाट मालबाहक बस्तुहरु मात्रै आयात निर्यात गर्ने जानकारी चिनियाँ पक्षले नेपाललाई दिएको छ । नेपालतर्फ अध्यागमन कार्यालयका लागि भवन छैन र कार्यालयमा कर्मचारीहरुको पनि व्यवस्था छैन । यसको र बाटोको कारणले गर्दा मानव आवत जावतको भने निर्णय हुन सकेको छैन । म सम्मानीय सभामुख मार्फत तत्काल लिपिङ क्षेत्रमा अध्यानगम कार्यालयको व्यवस्थागरी कर्मचारीहरुको समेत खटनपटन गरी कुटनैतिक पहल मार्फत मानव आवत जावतको समेत व्यवस्था मिलाउनका लागि सदन र सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद । लालसलाम ।’
अप्रिल १ देखि नेपाल चीनबीचको केरुङ नाका सञ्चालनमा आएको छ भने वैशाख १८ बाट तातोपानी नाका सञ्चालनको तयारी छ । सोही तयारी स्वरुप नेपाल र चिनियाँ सुरक्षा अधिकारीहरुबीच हिजो बैठक भएको हो । निवर्तमान सभामुख एवं माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, सांसद माधव सापकोटा सुबोध लगायतको अगुवाइमा तातोपानी नाका पूर्ववत सञ्चालनकालागि कुटनीतिक पहल भई चीन सो विषयमा सहमत भए पनि उसले नेपालतर्फको बाटो र अध्यागमन कार्यालय तथा कर्मचारीको विषय उठाएर मानव आवत जावतको व्यवस्था गर्न नसकिने जानकारी दिएको बताइएको छ ।
भूकम्प, बाढी पहिरो र कोभिडका कारण २०७२ साल यता सुनसान बनेको तातोपानी नाका पूर्ववत सञ्चालनका लागि नेपाली पक्षले कार्यालय र कर्मचारी समेत राख्न तदारुकता नदेखाएपछि सांसद सापकोटाल संसदमा आकस्मिक समय मागेर विशेष सम्बोधन गर्दै यसतर्फ सरकारको ध्यान आकृष्ट गराएका हुन् ।

प्रतिक्रिया