गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै पार्टीले बहुमत ल्याएर सरकार बनाउने भन्दा गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै पार्टीले बहुमत ल्याएर सरकार बनाउने भन्दा गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले भने, ‘वर्तमान संविधान र निर्वाचन प्रणालीका आधारमा अहिलेको स्थितिमा कुनै पनि दलले बहुमत ल्याएर सरकार बनाउने सम्भावना धेरै कम छ । त्यसकारण हामीले यो गठबन्धनलाई पाँच वर्ष नै चलाएर यसको माध्यमबाट जनतालाई सेवा दिने चुनौति छ ।’
उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई सही बिचार, नीति, कार्यशैली र संस्कारको आधारमा एकतावद्ध गर्ने प्रयासमा एकहदसम्म आफूहरु सफल नै भएको तर्क गरे । प्रधानमन्त्रीले विगतका वामपन्थी एकता र ध्रुबीकरणको प्रसंग कोट्याउँदै भने ‘हाम्रो एकता र ध्रुबीकरणको प्रक्रियालाई नेता–कार्यकर्ता र जनताले उत्साहको साथ अनुमोदन पनि गरेकै हो । हामीले संसार भरका बामपन्थी बिरोधीको घेराभित्र बसेर दुईतिहाई सरकारको नेतृत्व प्रतिस्पर्धाबाट ल्याउने भन्ने सानो कुरा थिएन ।’ यसमा कसैलाई दोष नदिई आफूहरुले नै बचाउन उनको टिप्पणी थियो । अहिले पनि कम्युनिस्ट आन्दोलन जनतामा लोकप्रिय नै रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सही नीति र विचारको आधारमा र भावानात्मक रुपले फेरि पनि एकताको उद्देश्य छोड्नु नहुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया