असीको दशक सुरु भयो । नयाँ बर्षको क्यालेण्डर झुण्डिएको छ भित्तामा । क्यालेण्डरले फेरि वैशाख १२ ल्याइपुर्याएको छ । सम्झनामा फेरि वैशाख १२ अर्थात, २०७२ वैशाख १२ ..
त्यो बिहान ११ : ५५ सम्म धर्ती सदा झैं नडगमगाई बसेको थियो, वसन्त ऋतुकी प्रकृति सुन्दर थिइन। अघिल्लो दिन, रातभर अनि बिहान पनि पानी परेको हुनाले बोटबिरुवा तथा बाटोघाटो पनि पखालिएका थिए ।
दिन न जाडो न गर्मी थियो। वन्यजन्तु तथा चराचुरुङी पनि झरी पश्चात आहाराको खोजीमा निस्किएका थिए। शनिवारको दिन मानिसहरू कोही घुम्न गएका, कोही नुहाईधुवाई गरेर बसेका, विद्यालय छुट्टी भएको कारण केटाकेटी खेल्दै गरेका, गाउँघरमा बिहानको मेलो सकेर कोहि खाना खादैँ थिए भने कोही दिउँसोको मेलो तिरै थिए। घडीले जब ११ : ५६ बजाएको थियो एक्कासी जमिन हल्लिन थाल्यो, आफूले टेकेको जमिन भासिए झैं भयो। घरहरु ढल्न थाले, रुखहरु ढल्न थाले, जमिन भासिन थाल्यो, पहिरो लड्न थाल्यो, एक्कासि सबैको जीवन अस्तव्यस्त हुन पुग्यो। घर भत्किएर जताततै धुलोको मुस्लो देखिन थाल्यो। कोही खाँदाखाँदै, कोही खेल्दा खेल्दै कोही घुम्दाघुम्दै, कोही यात्रारत अवस्था मै पुरिन थाले। कोहीलाई घरले, कोहीलाई पहिरो, कोहीलाई रुखले किचेर मार्यो भने कोहीको हात भाँचियो, कोहीको खुट्टा भाचियो त कोही पुरिएकै अवस्थामा पनि जिउँदै चित्कार गर्न थाले । कोलाहल भयो, हाहाकार मच्चियो। कोही आफ्ना सन्तान खोज्न थाले, कोही आफ्ना आमाबाबा खोज्न थाले। टेलिफोन सेवा अवरुद्ध भयो। जताततै भौतिक संरचना भत्किएर बाटो पनि अवरुद्ध भएका थिए। को कहाँ छ भन्ने कसैले अनुमान लगाउन सकेन।
यसरी नेपालको गोरखा जिल्लाको वारपाक केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको विनाशकारी महाभुकम्प गयो। यसले कतिलाई क्षणको क्षणमै मानिसबाट शव बनायो, कतिलाई टुहुरो बनायो, कतिलाई घाइते, कतिलाई अपांग बनायो, कतिलाई मानसिक रोगी बनायो भने सबैलाई घरबार विहिन बनायो । छिनमै सबैलाई सडकमा ल्यायो। कतिले आफ्नो आमाबाबा गुमाए, कतिले आफ्नो जिवनसाथी गुमाए, कतिले आफ्नो सन्तान गुमाए, कतिले आफ्नो सारा परिवार गुमाए। घरपालुवा जनावर गोठमै पुरिए । वन्यजन्तु पनि जङ्गलमै थिचिए।
वैशाख १२ को कहालीलाग्दो प्राकृतिक विपत्तीबाट नेपालले लगभग ९ हजार जना मानिस गुमायो। २० हजार भन्दा बढी मान्छे अंगभंग भए। लाखौंको संख्यामा भौतिक संरचना नष्ट भए। यो पछि नेपालले धेरै ठूलो आर्थिक संकट ब्यहोर्नुपर्यो।
भुकम्पको केन्द्रविन्दु गोरखा भएपनि यसबाट सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकले बेहोर्नु पर्यो। सिन्धुबासीमाथी २०७१ साल मा जुरेको पहिरोले बनाएको घाउ नपुरिदै अर्को बज्रपात पर्न गयो। जिल्लामा मात्र ३ हजार ५ सय ७५ जनाको ज्यान गयो भने लगभग ९०० जना घाइते भएका थिए । ६६ हजार घरधुरी पुर्ण क्षतिग्रस्त भए, चारैतिर अन्धकार भयो। ढुङ्गा माटोको घरले पुरेर त्यो थुप्रो भित्रबाट बचाउ भनेर चित्कार गर्नेहरुलाई पनि बचाउन सकिएन, जताततै शव अनि अंगभंग हुनेको संख्या बढ्दै गयो, गोठमा गाईवस्तु मरे। मलामी जाने समेत मान्छे भएन। बल्ल ज्यान जोगाएकाहरु पनि के गर्ने के नगर्ने सोच्न सक्ने स्थितीमा भएनन्। पानीको मुहानहरु भासिएर पानीको समेत हाहाकार पर्न गयो। वैशाख १२ को त्यो दिन सम्झिदा पनि मन झसंग हुने भुक्तभोगिहरुको भनाई छ ।
मानिस न हो, अनेक संघर्ष गरेर आएको, भुकम्प पछि पनि आफ्नो घाउमा मलम पट्टि लगाउन थाल्यो। कोहीले स्याउला काटेर गोठ हाले, केही त्रिपाल टाँगेर बसे त कोहि जस्ताको टहरा बनाएर बस्न थाले। आँटो पिठो जे भेटिन्छ त्यहि खाएर बाच्ने र बचाउनेमा लागे । सरकारी र गैरसरकारी संघसस्थाहरुबाट विस्तारै राहत वितरण गर्न थालियो। खान नपाएकाहरुले खाना पाए, घर टहरा बनाउन पनि सहयोग प्राप्त हुन थाल्यो। त्रिपाल समेत नपाएर खुला आकाशलाई छानो बनाएकाहरुले त्रिपाल पाए, भुइँमै सुतेकाहरुले म्याट पाए, आढ्ने पाए। सरकारबाट प्रति घर ३ लाख रुपैयाँ अनुदानको घोषणा भयो र किस्ता किस्ताको दरले बाँडियो। आज ८ वर्ष पुरा भएर ९ वर्ष लागीसक्दा भने भुकम्पको घाउमा विस्तारै खाटा बस्दै छ, घरहरु बनेका छन्, संरचना पुननिर्माण भएका छन् । भुकम्पले गर्ल्याम्म लढेको सिन्धुपाल्चोक उठेको छ।