भूमिसम्बन्धि समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भूमि सम्बन्धि व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौंदेखि थाँती रहेका समस्याहरूको प्याकेजमा समाधान सम्भव भएको बताएका छन् ।

१४ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमि सम्बन्धि व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौंदेखि थाँती रहेका समस्याहरूको प्याकेजमा समाधान सम्भव भएको बताएका छन् ।
बिहीबार राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले भूमि सम्बन्धि समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोहीबमोजिम कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
छलफलमा प्रधानमन्त्रीले भने “भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक छ । यसपटक मैले मन्त्रिपरिषदको बैठकबाट भूमि सम्बन्धि केही क्रान्तिकारी निर्णय लिने सोंच बनाएको छु । पटकपटक उही समस्या बल्झिएर भूमि सम्बन्धि समस्या भूमरिमा पर्नु हुँदैन । हामीले वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ ।”
भेटमा प्रधानमन्त्रीले सुकुम्बासी, अव्यवस्थित बसोबासी लगायत भूमिहीनहरूका समस्या दीर्घकालीन रूपमा सम्बोधन गर्ने कामलाई प्राथमिकता दिन निर्देशन दिए । “धेरै वर्षदेखि हामी एउटै समस्यामा अल्झिरहेका छौँ । अब यसलाई सदाका लागि समाधान गर्नुपर्छ । गाँस र बास जनताको पहिलो आवश्यकता हो । यसलाई तपाईहरूले पनि त्यही गम्भीरताका साथ बुझेर काम गर्नुस्, नीतिगत रूपमा गर्नुपर्ने कुरा सरकारले गर्छ । यसपटक यो समस्या सदाका लागि सम्बोधन गर्नैपर्छ ” उनले भने ।
भेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का लगायत आयोगका पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया