निकट भविष्य मै मानव आवतजावतसहित तातोपानी नाका पूर्ण सुचारु हुन्छ : सांसद सापकोटा

सिन्धुपाल्चोक क्षेत्र नं -१ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुबोध'ले निकट भविष्यमै मानव आवतजावतसहित तातोपानी नाका पूर्ण रुपमा सुचारु हुने बताएका छन् ।

१८ वैशाख, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं -१ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले निकट भविष्य मै मानव आवतजावतसहित तातोपानी नाका पूर्ण रुपमा सुचारु हुने बताएका छन् ।
आज विहान तातोपानी नाकाबाट आयात निर्यात सुचारु भएपछि विज्ञप्ती जारी गरेर सांसद सापकोटाले नाका पूर्ववत सञ्चालन हुने बताएका हुन् । उनले नेपाल र चीनबिचको व्यापारिक तातोपानी नाका दोहोरो सञ्चालन सुरुवात भएको सुखद अवसरमा सम्पूण सिन्धुपाल्चोकबासी, विशेष गरी क्षेत्र नं -१ का बासिन्दाहरुलाई बधाई ज्ञापन गरेका छन् । ‘यसअघि चीनतर्फबाट मात्रै सामाग्री आयात हुँदै आएकोमा दुइदेशबचि भएको सहमती अनुसार आजदेखि नेपालबाट पनि चीनतर्फ सामग्री निर्यात सुरु भएपछि यसले हामीमा फेरी अर्को खुसी सञ्चारित भएको छ ।’ उनले विज्ञप्तीमा भनेका छन् ।
‘यसबिचमा भएका कुटनीतिक भेटघाट एवं उच्चस्तरका पहलका क्रममा प्राप्त सूचना र प्रतिवद्धता अनुसार निकट भविष्यमै मानव आवतजावतसहित तातोपानी नाका पूर्ण रुपमा सुचारु हुने विश्वास दिलाउन चाहन्छु सांसद सापकोटाले भनेका छन् ‘नेपालतर्फ लिपिङस्थित अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापन, बाह्रविसे–लिपिङ सडक खण्डको मर्मत/स्तरोन्नति लगायतका अत्यावश्यक तयारीसहित नाकाको पूर्ण सञ्चालनका लागि निरन्तर पहलकदमी लिइराख्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।’
उनले मंसिर ४ मा सम्पन्न संघीय निर्वाचनका क्रममा अरनीको राजमार्ग वरपर र खासगरी तातोपानी नाकासँग प्रत्यक्ष सरकोकार राख्ने क्षेत्रका बासिन्दसँग नाकालाई पूर्ववत सञ्चालनका लागि सबैखाले पहल गर्ने प्रतिवद्धता जनाइएको स्मरण गर्दै निर्वाचन लगत्तै पुस ५ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्रीलाई सवद्ध व्यक्तित्वहरुसहित भेट गरी यसबारे ध्यानाकर्षण गराईएको विषय उल्लेख गरेका छन् ।
गत माघ ५, विशेष समय लिएर पहिलो सम्बोधन मै तातोपानी नाकालाई पूर्ववत सञ्चालनमा ल्याउन सदन र सरकारको विशेष रुपमा ध्यानाकर्षण गराएको, वैशाख ५ गते आकस्मिक समय लिएर लिपिङ क्षेत्रमा नेपालतर्फ अध्यागमन कार्यालय र कर्मचारीको व्यवस्था गरी मानव आवत जावतको कुटनीतिक पहल ध्यानाकर्षण गराएको विज्ञप्तीमा जनाइएको छ । यस्तै वैशाख १३ गते संसदमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजि श्रेष्ठको वक्तव्यपछि प्रश्नोत्तरका क्रममा तातोपानी नाका सञ्चालनका लागि नेपाल सरकारबाट गरिएको तयारी र अध्यागमन कार्यालय व्यवस्थापनबारे जिज्ञासा राख्दै तत्काल यसतर्फ पहल लिन ध्यानाकर्षण गराएको उनको विज्ञप्तीमा उल्लेख छ । यस अवधिमा नाकाको दोहोरो सञ्चालनका लागि चिनियाँ पक्षसँग औपचारिक एवं अनौपचारिक तवरबाट कुटनीतिक पहल पनि भैरहेको बताउँदै सांसद सापकोटाले चीनसँगको ऐतिहासिक एवं महत्वपूर्ण व्यापारिक नाका दोहोरो सञ्चालनका लागि पहल र प्रयत्नका लागि प्रधानमन्त्री, मन्त्रीहरु, निवर्तमान सभामुखलगायतमा आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया