

वैशाख २०, काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने लिसंखु पाखर गाउँपालिकाको सूचनाले स्थानीय अभिभावकमा उत्साह थपेको छ ।
वागमती प्रदेश अन्तरगतका ७१ गाउँपालिका मध्ये लिसंखुले यो अभ्यासका लागि सूचना जारी गरेपछि पक्ष र विपक्षमा बहस भइरहेको बेला अविभावकले भने सकारात्मक भनेका छन् । सञ्चारमाध्यमहरुमा आएको समाचार र सामाजिक सञ्जालमा राखिएका सूचनाहरुमा आम मानिसले निर्णय कार्यान्वयन भएको हेर्न चाहेको बताएका छन् ।
लिसंखुपाखरले सोमबार सूचना प्रकाशित गरी सार्वजनिक पद धारण गरेका सबै व्यक्तिले आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना र एक हप्ता भित्र सो को जानकारी गाउँपालिकालाई गराउन भनेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर विष्टद्धारा जारी सूचनामा सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको अभावका कारण विद्यार्थीको संख्या घट्दै गएपछि शिक्षाको गुणस्तरमा सुनिश्चितता कायम गर्न सहयोग पुर्याउने उदेश्य अनुसार सार्वजनिक पदधारण गरेका जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु तथा बहालवाला शिक्षक र कर्मचारीहरुले आफ्ना बालबालिकालाई सुचना प्रकाशित मितीले ७ दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सो को जानकारी पालिकाको शिक्षा शाखामा उपलब्ध गराउनुपर्ने भनिएको छ ।
गाउँपालिका अध्यक्ष राजु लामाले पालिकाबाट यस प्रकारको सूचना आउनु भन्दा दुई दिन अघि आफ्ना छोराछोरी पालिका वाफलको महादेबस्थान आधारभूत विद्यालयमा भर्ना गरेको फोटो सार्वजनिक गरेका थिए । केही दिन यता सामुदायिक विद्यालयको अनुगमन, अवलोकनमा रहेका उनले अभिभावक र विद्यार्थीको घुईंचो लाग्ने सामुदायिक विद्यालयबारेको सामग्री सामाजिक सञ्जालमा राखेका थिए । माध्यमिक विद्यालयमा विद्यार्थी संख्या १३८ जना रहेको विषय उल्लेख गरी राखिएको एउटा फेसबुक पोष्टमा पालिका अध्यक्ष लामालाई गाउँ फर्क अभियान चलाउन सुझाएका छन् ।
‘रिस्क छैन’
राजनीतिमा आउनु भन्दा पहिलो शिक्षण पेशामा रहेका गाउँपालिका अध्यक्ष लामाले पालिकाले बाध्यकारी सूचना जारी गरेर विद्यार्थी संख्या वृद्धि र सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन खोजको जानकारी दिए । उनले भने ‘सामुदायिक विद्यालयका विद्यार्थी घटेको छ, सार्वजनिक पद धारण गरेकाहरुले नै विद्यालयलाई विश्वास गरनौं भने कसले गर्छ भनेर यो अभियान सुरु गरिएको छ, कार्यान्वयन हुने छ।’ पालिकाले विद्यालयको गुणस्तर सुधारका लागि पनि उत्तिकै ध्यान दिएको उनको भनाई छ । अध्यक्ष लामाले भने ‘अलिकति मेहनत गर्दा सुधार गर्न सकिन्छ, अभिभावकले विश्वास नगर्नुको कारण पद धारण गरेकाले विश्वास नगरेर हो भन्ने लागेको छ, यो अभियानले शिक्षक पनि सचेत र सजक हुने अपेक्षा छ ।’
कुल जनसंख्या ११ हजार ७ सय ५० रहेको लिसंखु पाखर गाउँपालिकाको साक्षरता प्रतिशत ६७ दशमलब ४ प्रतिशत छ । २०७८ सालमा गरिएको जनगणनाको प्रतिवेदनले ग्रामीण क्षेत्रमा जनसंख्या घट्दो क्रममा देखाएको छ ।

