‘इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई कानुनको दायरामा बुझाउनुहोस्’: सांसद सापकोटा

२४ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा ‘सुबोध’ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर रकम ठगी गर्ने टोपबहादुर रायमाझीलाई कानुनको दायरामा बुझाउँदा नै एमालेको कल्याण हुने बताएका छन् ।
आइतबार प्रतिनिध सभा, बजेट अधिवेशनको पहिलो बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने विषयमा सांसदहरुले धारणा राखेका थिए । एमालेका सांसदहरूले नक्कली भुटानी शरणार्थीमात्रै नभई अरु विषय पनि छानबिन गर्नुपर्ने बताए । सापकोटाले सम्बोधनमा भने, ‘प्रमुख प्रतिपक्षका साथीहरूले छापामार शैलीमा केही कुरा राख्नुभयो । प्रमुख प्रतिपक्ष साँच्चै भ्रष्टाचारीहरूलाई कारबाही गर्नका लागि इमानदार हो भने तपाईंहरू विषयान्तर नगर्नुस् । प्रधानमन्त्रीले बोलेका कुराहरूलाई खिसिट्युरी गरिराख्नुभएको छ, तपाईंहरूलाई नै त्यसले नांगो बनाइरहेको छ । इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर तपाईंहरूले कानुनको दायरामा बुझाउनुहोस्, त्यसैमा तपाईंहरूको कल्याण छ ।’ एमालेका सांसदहरूले नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा संलग्न आफ्ना सांसद तथा सचिव रायमाझीलाई पक्राउ पुर्जीसमेत जारी भइसकेको अवस्थामा विषयान्तर गर्न खोजेको सापकोटाको भनाई छ ।
उनले भने ‘विषयान्तर र खिसिट्युरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्ने शैली छ । यसले तपाईंहरूलाई राजनीतिक ढंगले प्रस्तुत गरेन।’

प्रतिक्रिया