सबैखाले फोहोर निर्मूल पार्छौं : प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् ।


२९ वैशाख, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले शहरको सौन्दर्य र स्वस्थ जीवनका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण भएको भन्दै सरकार राजनीतिक क्षेत्रमा देखिएको फोहोरसमेत व्यवस्थापन र निर्मूल पारिने बर्ताए । प्रधानमन्त्रीले भने “हामी फोहोर व्यवस्थापनको छलफलमा छौँ। उपत्यकाको मात्र नभएर देशभरिको फोहोर व्यवस्थापन गर्ने कुरा हाम्रो प्राथमिकतामा छ। यो फोहोरको कुरा त छँदैछ, राजनीतिमा देखिएको फोहोर व्यवस्थापन र निर्मूल गर्नसमेत सरकार अगाडि बढेको छ।” “परम्परागत तरिकाले फोहोरमैलाको दीर्घकालीन समाधान सम्भव छैन। आधुनिक प्रविधिको प्रयोगबाट मात्रै फोहोरलाई मोहरमा रूपान्तरण गर्न सक्छौँ” प्रधानमन्त्रीले भने “फोहोरलाई हामीले समस्या र झन्झटका रूपमा होइन उर्जा, मल र आम्दानीका विभिन्न स्रोत र अवसरका रूपमा बुझ्नुपर्छ। त्यसका लागि प्रविधिमैत्री सोच र योजना आवश्यक छ।
काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित गर्नेबारे प्रधानमन्त्रीको आव्हानमा भएको बैठकमा सरकारका प्रतिनिधि, ल्याण्डफिल साइटका प्रतिनिधि र सरोकारवालाहरूको प्रतिनिधिहरूले फोहोर व्यवस्थापनको दीर्घकालीन उपायबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया