‘विद्यार्थीको भविस्यमाथि खेलवाड गर्नेलाई कारबाही होस्, भ्रष्टाचार छानविन विषयान्तर नगरियोस्’ सांसद सापकोटा

नेकपा (माओवादी) केन्द्रका सांसद माधव सापकोटा ‘सुबोध’ले विद्यार्थीको भविस्यमाथि खेलवाड गर्नेमाथि छानविन गरी गम्भीर कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

१ जेठ, काठमाडौं । नेकपा (माओवादी) केन्द्रका सांसद माधव सापकोटा ‘सुबोध’ले विद्यार्थीको भविस्यमाथि खेलवाड गर्नेमाथि छानविन गरी गम्भीर कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधि सभामा आकस्मिक समयमा सम्बोधन गर्दै सांसद सापकोटाले रत्न राज्य लक्ष्मी क्याम्पस (आर आर) का झन्डै पाँच सय विद्यार्थीको अंक पठाउने विषयमा भएको त्रुटिको घटनाबारे छानविनको माग गरेका हुन् । आर आर क्याम्पसका स्नातक तह प्रथम वर्षका विद्यार्थीको परिक्षामा सम्मिलित नभएको भनेर त्रिभुवन विश्वविद्यालयले नतिजा निकालेपछि यो विषयले गम्भिर रुप लिएको विषयमा सांसद सापकोटाले खोजविनको आग्रह गरेका हुन् ।
सम्बोधनका क्रममा उनले उनले मानव तस्करीसँग जोडिएको नक्कली शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याउनु पर्ने बताएका छन् । उनले यसलाई विषयान्तर गर्दा भष्टाचारलाई नै सहयोग पुग्नेतर्फ सरकारको सिंगो संसद र सरकारलाई खबरदारी गरेका हुन् । क्रमशः अरू भ्रष्टाचारका फाइल पनि खोल्नु पर्ने धारणा राखेका थिए ।


सम्बोधनको पूर्णपाठ
‘आज ५९ औँ राष्ट्रिय विद्यार्र्थी दिवस, विद्यार्थीहरूले सुखद खबर सुन्नुपर्ने बिडम्बना आज त्रिभुवन विश्वविद्यालय र आरआर कलेजको लापरबाहीका कारण झन्डै ५ सय विद्यार्थीहरूको भविष्यमै प्रश्न चिन्ह खडा हुने गरीकन एउटा घटना अगाडि आयो । जुन सार्वजनिक मिडियाहरूमा सनसनीपूर्ण रूपमा आएको छ । आरआर कलेजले भन्छ– टियुको परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो । टियुको परीक्षा नियन्त्रण कार्यालय भन्छ– आरआर कलेजको कमजोरी भयो । एकले अर्कालाई दोषारोपण गर्ने र ५ सयभन्दा बढी विद्यार्र्थीहरूको जीवनमाथि खेलबाड हुने कार्य भइराखेको छ । दुई वर्षअघि हुनुपर्ने परीक्षा ढिलो गरेर २ वर्ष पछाडि भयो, एक वर्ष लगाएर बल्ल परीक्षाको नतिजा सार्वजनिक भयो । त्यो पनि ५ सय विद्यार्थीहरूको नतिजामा अनुपस्थित देखियो र, के सम्म आएको छ सञ्चार माध्यममा भने आन्तरिक रूपमा विषय शिक्षकले दिएको अंकमा समेत फेरबदल गरियो भन्नेजस्ता आरोपहरू समेत लागेर समाचार प्रकाशित भएका छन । यसबीचमा ती विद्यार्र्थीहरूले छात्रवृत्तिलगायतका अरू पाउने सुविधाबाट बञ्चित रहनसक्ने खतरा पनि उत्पन्न भएको छ । त्यसैले म सम्माननीय सभामुख मार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यो घटनाको छानबिन गर्दै दोषी उपर गम्भीर कारबाहीको माग राख्न चाहन्छु ।
साथै भ्रष्टाचारका बारेमा सिङ्गो देश र अन्तरास्ट्रिय जगत बहसमा छ, म सम्माननीय सभामुख मार्फत सबै माननीय सदस्य र सिङ्गो देशलाई के अपिल गर्न चाहन्छु भने अहिले मानव तस्करी जोडिएको भ्रष्टाचारको विषय आएको छ । सम्पूर्णरूपमा देश यसमा केन्द्रित हुनुपर्छ । यसलाई निष्कर्षमा पुर्याइनु पर्छ, यस विषयलाई विषयान्तर गर्ने, यस विषयलाई कमजोर पार्न अरू कुरा उठाउनु भनेको भ्रष्टाचारलाई नै मद्दत पुर्याउनु हो । अहिले चलिराखेको मानव तस्करसहितको विषयलाई निष्कर्षमा पुर्याएर अरू फाइल खोल्ने दिशामा सरकार जाओस्, धन्यवाद लालसलाम ।’

प्रतिक्रिया