‘पूर्व माओवादी लडाकुलाई राज्यबाट दिएइएको रकममा भ्रष्टाचार भयो भन्नु आरोपका निम्ति आरोप’ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'ले पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्नु आरोपका निम्ति आरोप मात्रै भएको बताएका छन् ।

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्नु आरोपका निम्ति आरोप मात्रै भएको बताएका छन् ।
विहिवार संघीय संसद, प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिने क्रमममा प्रधानमन्त्री प्रचण्डले त्यतिबेला शान्ति सम्झौता भएर जनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि क्यान्टोनमेन्टको भौतिक पूर्वाधार र योद्धाहरूको रासनपानीको निम्ति राज्यबाट दिइरहेको रकम र त्यसको अडिट, त्यहाँ को–को थिए र क–कसले लिए भन्ने सबै रेकर्ड रहेको बताए ।
उनले भने ‘माननीय सदस्यलाई जनकारी गराउन चाहन्छु, त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरू समेतले रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो । यसलाई राजनीतिक आग्रह र पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं आश्चर्यमा परेको छु ।’
‘इतिहासको एउटा त्यस्तो परिघटना, जसले देशलाई शान्तिको नयाँ युगतिर ल्याउन मद्दत गर्यो। इतिहासको त्यो संवेदनशील घडी, जतिबेला विभिन्न क्यान्टोनमेन्टमा हजारौं लडाकुहरू राखेर देशमा शान्ति, लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्न मद्दत ग¥यो र त्यो रकम जो राज्यबाट दिइयोस त्यसको अडिट भएर टुंगो लागिसकेको विषय पटक–पटक राजनीतिक आग्रहका रूपमा ल्याइएको छ भन्ने मेरो बुझाइ छ ।’ उनले यस विषयमा थप स्पष्ट गरे ।
प्रधानमन्त्री प्रखण्डले यदि त्यस्तो केही छ, छानबिन गर्नुपर्छ भने आफ्नो दलको घोषणापत्रमा २०४८ सालदेखिकै सबै घटना, उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनको सम्बन्धमा या विभिन्न समयमा उठेका भ्रष्टाचार सम्बन्धी सबै मुद्दाहरूमा छानबिन गर्न म तयार रहेको प्रधानमन्त्रीले बताए । हामी सबै राजनीतिक तहमा एउटा संकल्पका साथ सहमति गरेर जाँदा सबै चिज छानबिन गर्न सकिन्छ । देशमा सुशासन र भ्रष्टाचारबाट उन्मुक्तिको नयाँ युग सुरु गर्न सकिन्छ । उनले भने ‘म फेरि पनि माननीय सदस्यको यो प्रश्नको उत्तर दिंदै के भन्न चाहन्छु भने क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ । फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया