सिन्धुकी मसिना खड्का भण्डारी बागमती प्रदेशमा वन तथा वातावरण मन्त्री नियुक्त

सिन्धुपाल्चोकबाट १ को 'क' प्रदेशबाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सभा सदस्य मसिना खड्का भण्डारी वन तथा वातावरण मन्त्री नियुक्त भएकी छन् ।

७ जेठ, काठमाडौं । सिन्धुपाल्चोकबाट १ को ‘क’ प्रदेशबाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सभा सदस्य मसिना खड्का भण्डारी वन तथा वातावरण मन्त्री नियुक्त भएकी छन् ।
मुख्य मन्त्री शालिकराम जमरकट्टेलले आइतबार मन्त्री परिषद विस्तार गर्दै मन्त्रालयको जिम्मेवारी दिएका हुन् । बागमती प्रदेशको मन्त्रीपरिषद् विस्तार तथा पुनर्गठनमा राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी विकास मन्त्री, लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालयमा नियुक्त भएका छन् । त्यस्तै पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र स्वास्थ मन्त्रालयको जिम्मा भने पुकार महर्जन र उत्तम जोशीले पाएका छन् ।
को हुन मसिना खड्का भण्डारी
सिन्धुपाल्चोकलाई कार्यक्षेत्र बनाएर नेपाली राजनीतिमा आफ्नो अलग पहिचान बनाउन सफल नेतृ मसिना खड्का भण्डारीको जन्म माता मान कुमारी खड्का र पिता हरि बहादुर खड्काकी काँइली छोरीका रुपमा वि सं २०२४ चैत २८ गते जिल्लाको बाह्रविसे नगरपालिकास्थित कर्थलीमा भएको थियो ।

सुरुमा गाउँमै र त्यसपछि बाह्रबिसेस्थित श्री शारदा माध्यमिक विद्यालयबाट शिक्षा प्राप्त गरेकी उनले काठमाडौंमा बसेर अध्ययन, राजनीति गर्दै गर्दा जिल्लाकै सुनकोशी गाउँपालिका निवासी अकल बहादुर भण्डारी (एबि) संग विबाह गरेकी हुन् । उनका विशाल र विकास गरी दुई छोरा छन् । समाजसेवा र व्यवसायसँगै अघि बढाउँदा अनेकन हण्डर बेहोर्दा समेत निरन्तर राजनीतिमा सक्रिय उनी २०४६ सालमा भएको आन्दोलनमा सहभागी भएकी थिइन । भक्तपुरमा अस्थायी बसोबास हुँदा मध्यपुर ठीमिमा सक्रिय राजनीतिमा सहभागी भण्डारी २०६२र६३ को आन्दोलनमा अगुवा महिला नेतृका रुपमा बनीन् । नेपाली कांग्रेसको ११ औं महाधिवेशबाट क्रियाशील सदस्यका रुपमा पार्टी राजनीति सुरु गरेकी उनीसँग पार्टीको केन्द्रिय उद्योग व्यापार विभाग सदस्यको जिम्मेवारी सम्हालेको अनुभव छ । महाधिवेशन प्रतिनिधि उनी पार्टीको १४ औं महाधिवेशनका लागि गठित स्वास्थ्य समिति सदस्यको जिम्मेवारीमा थिइन् । २०७९ बैशाखमा स्थानीय तहको निर्वाचमा बागमती प्रदेशस्तरीय निर्वाचन परिचालन समिति सदस्य भण्डारी हाल नेपाली कांग्रेस पार्टीको बागमती प्रदेश समितिमा कार्यसमिति सदस्यको जिम्मेवारीमा छिन् ।


सिन्धुपाल्चोमा २०७१ सालमा गएको जुरे पहिरो, २०७२ सालको विनासकारी भूकम्प, २०७६ देखि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९, २०७८ को मेलम्ची बाढीबाट प्रभावितका लागि महत्वपूर्ण सहयोग गरेकी उनले गृह जिल्लामा ‘जनताकी सुख दुखकी साथी’ का रुपमा पहिचान बनाएकी छन् ।
मन्त्री मसिना खड्का भण्डारी २०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ को १ बाट बागमती प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएकी हुन् । बागमती प्रदेश सभामा प्रत्यक्ष निर्वाचित पाँच महिला मध्येकी एक उनी पार्टीबाट प्रत्यक्ष निर्वाचित हुने दुई मध्येकी एका पर्छिन ।


स्वास्थ्य र शिक्षा सर्बसाधारण नागरिकको पहुँचमा हुनुपर्छ भन्ने स्पष्ट मान्यता राखेर आवाज उठाउँदै आएकी उनी महिलालाई विशेष सम्बोधन गर्दै कृषि क्षेत्रमा निर्भर महिलालाई प्रोत्साहित गर्न राज्यले छुट्टै विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिँदै आएकी छन् ।

प्रतिक्रिया