‘एक घर एक धारो’ को महत्वाकांक्षी लक्ष्य पछ्याउँदै चौतारा, आफ्नो कार्यकालमा अभियान पुरा गर्ने नगरप्रमुख सापकोटाको प्रतिवद्धता

चौतारा साँगाचोकगढी नगरपालिकाले नगरमा 'एक घर एक धारो' कार्यक्रम अघि सारेको छ ।

८ वैशाख, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरमा ‘एक घर एक धारो’ कार्यक्रम अघि सारेको छ । हरेक वर्ष हिउँद लागेसंगै खानेपानीको संकट झेल्दै आएका नगरबासीलाई खानेपानीको पहुँच पुर्‍याउने उदेश्यले यस्तो महत्वकांक्षी अभियान सञ्चालन गर्न लागिएको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
नगरका वडा नं १ स्याउले , वडा नं ५ को हुन्द्रुङ ,वडा नं ७ को नेपाने, वडा नं ९ को सिरान चौर र बिक टोलमा गरी ३ सय ८९ घरधुरी कार्यक्रमबाट लाभान्वित भइसकेको नगर प्रमुख सापकोटाले बताए । उनका अनुसार उल्लेखित बस्तीहरुमा एक घर एक धारो समुदायलाई हस्तान्तरण भैसकेको छ ।
आफू नगर प्रमुख निर्वाचित भएपछि नगरपालिका भित्रका केही वडा र वस्तीहरुबाट सुरु यो अभियान नगरका सम्पुर्ण वडा तथा गाउँमा सञ्चालन हुने नगरप्रमुख सापकोटाले जानकारी दिए ।
अभियान अन्तर्गत खानेपानीका धारा वितरण गर्ने काम टोल -टोलमा सञ्चालन भइरहेको र आफ्नो कार्यकालमा यसले पूर्णता पाउने नगर प्रमुख सापकोटाले प्रतिवद्धता व्यक्त गरेका छन् । विभिन्न साझेदार संस्था र नगरपालिकाको आफ्नै लगानीमा यो कार्यक्रम सञ्चालन भइरहेको र यसबाट नगरबासी लाभान्वित हुने नगरप्रमुख सापकोटाले बताए ।
२०७८ को जनगणना अनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा कुल ११ हजार ५ सय ९० घरधुरी रहेका छन् ।

प्रतिक्रिया