९ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले जुरे पहिरो पीडितलाई माग बमोजिम नगद वितरण गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले जनताका मागलाई गम्भीरतापूर्वक लिएर तातोपानी नाकामा कर्मचारीहरु व्यवस्था गरी अध्यागमन कार्यालय सञ्चालनमा ल्याएकोमा पनि संसदबाटै धन्यवाद दिए ।
सम्बोधनको पूर्णपाठ
‘जुरे पहिरो पीडितहरुको नाममा नीजि क्षेत्रबाट संकलित रकम विगत ९ वर्षदेखि रोकेर राखिएको थियो । मन्त्री परिषदको मिती २०७९ चैत्र १४ गतेको वैठकले सो रकम सम्बन्धीत पीडितलाई नगदै वितरण गर्ने निर्णय अनुसार गत जेठ २ गते स्थानीय स्तरमा बागमती प्रदेशका मुख्य मन्त्री माननीय शालिकराम जमरकट्टेल, आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठ समेतको उपस्थितिमा स्थानीय सरकार मार्फत नगद वितरण कार्य सम्पन्न गरेका छौं । साथै मैले यस गरिमामय संसदमा पटक-पटक तातोपानी नाकामा अध्यागमन कार्यालय स्थापना गर्न माग गर्दै आएको थिए । हालसालै सरकारले अफिसर १ जना , नासु ३ जना, खरिदार १ जना, लेखाको १ जना र कार्यालय सहयोगी १ जना गरी ७ जना कर्मचारीहरु व्यवस्था गरी अध्यागमन कार्यालय सञ्चालनमा ल्याएको छ । जनताका मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गरिएकोमा सम्माननीय प्रधानमन्त्री, माननीय गृहमन्त्री, मुख्य सचिव सहित सबै राष्ट्रसेवक कर्मचारीहरु, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, वलेफी, त्रिपुरा, बाह्रबिसे ३ वटा स्थानीय तहहरु सहित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’