खेलाडीलाई लिसंखु पाखरको सहयोग, हौसला दिएका हौं-अध्यक्ष लामा, मनोबल बढेको छ : खेलाडी

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई दुई लाख नगद सहयोग गरेको छ ।

१० जेठ, काठमाडौं । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई दुई लाख नगद सहयोग गरेको छ ।

बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले सहयोग रकमको चेक खेलाडी काजल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । उनले स्थानीय सरकारले युवा प्रतिभाहरुलाई सहयोग गर्ने नीति रहेको बताउँदै सार्ककी स्वर्ण विजेता  काजललाई हौसला र मनोबलका लागि सहयोग गरेको जानकारी दिए । उनले भने, ‘हामी गाउँपालिका भित्रका सबैखाले प्रतिभाको पहिचान गर्ने क्रममा छौं, खेलकुदलगायत हरेक क्षेत्रका प्रतिभालाई प्रोत्साहित गर्ने हाम्रो नीति छ ।’ उनले पालिकाले खेल, खेलाडी र देशका लागि सहयोग जारी राख्ने उद्घोष गरे ।  

सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले संघीयता कार्यान्वयनको यस अबधिमा स्थानीय सरकारले संघको कार्यालयमा आएर खेलाडीलाई सहयोग गरेको र थप सहयोग गर्ने प्रतिवद्धता जनाएको यो पहिलो घटना भएको बताए । ‘हामी खुसी छौं, लिसंखु पाखरका अध्यक्ष राजु लामा र सिंगो पालिकालाई धन्यवाद, यो अरु स्थानीय सरकारलाई पनि सन्देश हो ‘ उनले भने । ‘खेलले देशको प्रतिनिधित्व गर्छ । युवा, खेलप्रेमि राजनीतिज्ञको पहिलो प्रतिवद्दताले हामी खुसी छौं, यो कामका लागि हाम्रो सम्मान छ’, उनले दोहोर्याए । तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीले पालिकाको सहयोगप्रति खुसी व्यक्त गरे । यसबाट सम्पूर्ण खेलाडी र खेलप्रेमीलाई हौसला मिलेको भण्डारीको भनाई छ । उनले खेलाडी श्रेष्ठलाई १५ हजार नगद सहयोग गरे ।

तेक्वान्दो खेलाडी काजल श्रेष्ठले लिसंखुपाखर गाउँपालिकालाई विशेष आभार व्यक्त गर्दै सहयोगले आफ्नो मनोबल बढाएको बताइन् । प्रतियोगितामा आफूले स्वर्ण पदकका लागि प्रयास गर्ने उनको प्रतिवद्धता छ । कार्यक्रममा उपस्थित उनकी आमा ईश्वरीमायाँ श्रेष्ठले छोरीको खेल्ने चाहनामा गाउँपालिकाले गरेको सहयोगप्रति धन्यवाद दिइन् ।

काजललाई हौसला दिन तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा, तेक्वान्दो आबद्ध खेलाडीहरु सातदोबाटोस्थित संघको कार्यालयमा पुगेका थिए ।

लिसंखु पाखर गाउँपालिका वडा नं ५ की काजल सार्कमा स्वर्ण पदक बिजेता खेलाडी हुन् । यहि जेठ १५ गते देखि अजरबैजानमा हुने विश्व तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन चाहेकी उनलाई खर्च अभावले अप्ठेरो परेको थियो । गाउँपालिकाको सहयोग पछि अब उनले खेल्न जान पाउने भएकोमा खुसी व्यक्त गरेकी छन् । प्रतियोगितामा विश्व भरका २०० देशले सहभागिता जनाउँदै छन् । नेपालका तर्फबाट ८ खेलाडी र २ जना कोच विहिबार जेठ ११ गते अजरबैजान प्रस्थान गर्दै छ ।  

प्रतिक्रिया