चौताराका किसानलाई आधुनिक कृषि सामग्री वितरण

१० जेठ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले स्थानीय किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको छ । मेयर कृष्णप्रसाद सापकोटाले नगरपालिकामा आयोजित एक कार्यक्रममा किसानलाई सामग्री हस्तान्तरण गरेका हुन् । कृषि उत्पादन बढाउने उद्देश्य राखेर ७ सय ५५ थान फरक फरक कृषि सामग्री वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
शाखाबाट अनुदान कार्यक्रम अन्तर्गत मिनी ट्रिलर ६६ थान, प्लास्टिक टनेल ५ सय ६० थान, ब्याट्री स्प्रेयर १ सय ११ र प्लास्टिक पोखरी १८ गरी जम्मा ७ सय ५५ थान सामग्री वितरण गरिएको हो ।
कृषि सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले कृषि उत्पादन बढाउँदै व्यवसायीकरणतर्फ जानु पर्नेमा जोड दिए । उनले यसका लागि वितरित कृषि सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गरे । कृषिलाई व्यवसाय उन्मुख बनाउन उत्पादन बढाउनुपर्ने उनको भनाई थियो ।
नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको हो । नगरको कुबिण्डे, सुकुटे, शेरालगायतका तल्लो क्षेत्र मुख्य रूपमा खाद्यान्न र तरकारी बालीका लागि उर्वर छ । नगरका डडुवा , ठुलोसिरुवारी लगायतका स्थानको गोलभेंडा जिल्लाबाट काठमाडौंका बजारमा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया