विद्यार्थीले पहिलो पाठशाला घरबाटै राम्रो संस्कार सिक्नुपर्छ : नगर प्रमुख सापकोटा

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले घर नै हरेक विद्यार्थीका लागि पहिलो पाठशाला भएकोले संस्कारका विषय घरबाटै सिकाउनु पर्ने बताएका छन् ।

१२ जेठ, सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले घर नै हरेक विद्यार्थीका लागि पहिलो पाठशाला भएकोले संस्कारका विषय घरबाटै सिकाउनु पर्ने बताएका छन् ।
नगर शिक्षा शाखाले आयोजना गरेका १० दिने अभिभावक शिक्षा कार्यक्रमको स्याउलेमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले अभिभावकलाई यसतर्फ सधैँ सचेत रहन आग्रह गरे । उनले शिक्षक, विद्यार्थी र अभिभावकबिच त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने रहेको चर्चा गर्दै अभिभावकले आफ्ना छोराछोरीहरु विद्यालय गए नगएको निगरानी गर्नुपर्ने बताए । आफ्ना बालकालिकाको पढाइका विषयमा अविभावकले शिक्षकसँग निरन्तर परामर्श गर्नु पर्ने एवं विद्यार्थीको रुची अनुसारको काममा सहयोग गर्नुपर्ने नगर प्रमुख सापकोटाको सुझाब थियो
यही जेठ २ गतेदेखि नगरपालिका भित्रका विभिन्न १० वटा विद्यालयमा सञ्चालीत अभिभावक शिक्षा कार्यक्रममा सबै कार्यक्रममा गरी १ हजार ६४ जना अभिभावकले सहभागीता जनाएका थिए । कार्यक्रको ढाँचा अनुसार विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षा प्रेमी, सरोकारवाला र अभिभावकको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सबै बालबालिका सिक्न सक्छ्न, जीवन व्यवहारको सिकाइमा कमजोर भए अभिभावक फेल, विद्यालयको सिकाइमा कमजोर भएमा शिक्षक फेल, विद्यार्थी कहिल्यै फेल हुँदैन भन्ने विषयमा विशेष महत्व दिइएको थियो । कार्यक्रममा विद्यालयका लागि रिपोर्ट कार्ड बनाउने, आफ्ना बालबालिकाको सरसफाई , पोषण र स्वास्थमा ध्यान दिनुपर्नेलगायतका विषयमा अभिभावकलाई सचेत गराइएको थियो ।

प्रतिक्रिया