नागरिकता विधेयक प्रमाणिकरण र रेशम चौधरीको सजाय माफी मिनाहाका लागि राष्ट्रपति समक्ष सिफारिस

सरकारले रेशम चौधरीको सयाय माफी मिनाहाका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

१४ जेठ, काठमाडौं । सरकारले रेशम चौधरीको सजाय माफी मिनाहाका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले ५० प्रतिशत सजाय कटाइ सजाय माफी मिनाहाको निवेदन दिएका रेशमलाल चौधरीलगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफी मिनाहाका लागि सिफारीस भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष २०८० ८१ को बजेट लगायतका अन्य समसामयिक विषयवस्तुमा छलफल गरिएको थियो । बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङकी अनिता ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी क्यानडामा २०८० भदौ ५ गते देखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरुमा अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रवक्ता शर्माका अनुसार मध्य तमोर जलविद्युत् आयोजनाको प्रशारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय गरेको छ । बैठकले लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिएकी छन् ।
त्यस्तै प्रवक्ता शर्माले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको जानकारी दिइन् । मन्त्रिपरिषदले उपेश महर्जनलाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकार नियुक्त गरेको छ ।

प्रतिक्रिया