पोषण सुधारको लागि गरिने कार्य भावि सन्ततिका लागि लगानी : सचिव पुस्कर

संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले पोषण सुधारको लागि गरिने कार्य भावि सन्ततिहरूका लागि लगानी भएको बताएका छन् ।

१४ जेठ, जोमसोम । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले पोषण सुधारको लागि गरिने कार्य भावि सन्तति लागि लगानी भएको बताएका छन् । नेपाल सरकारले राखेको दीगो विकास लक्ष्य २०३० को लक्ष्य हासिल गर्न तथा सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न यो कार्यक्रमको महत्वपूर्ण योगदान रहने सचिव पुष्करको भनाई छ ।
मुस्ताङको जोमसोममा आइतबार आयोजित बहुक्षेत्रीय पोषण कार्यक्रमको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पुस्करले सामान्य हिसाबले मुस्ताङ जिल्ला समग्र पोषणको अवस्थामा तुलनात्मक रूपमा राम्रो देखिए पनि दुरदराजका विपन्न समूदायमा पोषणको अवस्था कमजोर हुनसक्ने भएकोले यस तर्फ विशेष ध्यान दिएर काम गर्न स्थानीय तहलाई आग्रह गरे ।
विशेषगरी ५ वर्ष मुनिका बालबालिका, सुनौलो हजार दिनका महिला तथा किशोरीको पोषण अवस्थामा सुधार ल्याउन सो अभिमुखीकरण कार्यक्रम गरिएको थियो । गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा बहुक्षेत्रीय पोषण कार्यक्रमसंग सम्बन्धित विषयगत शाखा प्रमुखहरूलाई सहभागी गराईएको अभिमुखीकरण कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख श्रीमाया गुरूङको अध्यक्षतामा भएको हो । कार्यक्रममा संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका सहसचिव कमल भट्टराई र स्किम श्रेष्ठ, तथा मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीको समेत सहभागिता रहेको थियो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संङ्घीय मामिला महाशाखा प्रमुख तथा सहसचिव स्किम श्रेष्ठ, स्थानीय तह समन्वय शाखा प्रमुख तथा उप सचिव रेशम कडेंल तथा युनिसेफ नेपालका प्राविधिक समूहले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया