आज १६ औं गणतन्त्र दिवस, विशेष कार्यक्रम गरी मनाइदै, राष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश

आज १६ औं गणतन्त्र दिवस, विषेश कार्यक्रम आयोजना गरी मनाईंदै छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई गणतन्त्र घोषणा गरिएको थियो ।

१५ जेठ, काठमाडौं । आज १६ औं गणतन्त्र दिवस, विशेष कार्यक्रम आयोजना गरी मनाईंदै छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई गणतन्त्र घोषणा गरिएको थियो ।
२०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) मा नेपाललाई गणतान्त्रिक व्यवस्थामा लानु पर्ने राजनीतिक मुद्धा संगठित रुपमा समावेश गरिएको थियो । शामन्तवादको प्रतिकको रुपमा रहेको राजतन्त्रात्मक व्यवस्थाका कारण नेपाली जनताले रैतिका रुपमा बाँच्नु पर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गर्दै जनताका छोराछोरी नै शासन सत्तामा लैजान गरिएको सो संघर्षका क्रममा हज्जारौं नेपाली नागरिकले जीवन बलिदान गरेका थिए । राजाले २०६१ माघ १९ गते शाही घोषणा मार्फत राज्यसत्ता आफ्नो हातमा लिएका थिए । प्रधानमन्त्रीका लागि निवेदन माग्ने, नेताहरु दरबारको आँगनमा लाइन बसेर राजालाई दाम चढाउन जानु पर्ने अवस्थामा रहेका तत्कालीन सात दल र विद्रोही माओवादीका बीचमा भएको समझदारीबाट २०६२ /६३ मा १९ दिनसम्म ऐतिहासिक आन्दोलन भएको थियो । जनआन्दोलनको राप तापका कारण तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटीत संसद पुनस्र्थापना गर्दै जनताको नासो जनतालाई नै सुम्पेको घोषणा गरेका थिए । विद्रोही माओवादी र सरकारका बीचमा २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो । सात दलका तर्फबाट गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सम्झौतामा हस्ताक्षर गरेका थिए । अन्तरिम व्यवस्थापिका हुँदै २०६४ साल चैत २८ गते सम्पन्न संविधान सभाको पहिलो निर्वाचनबाट माओवादी ठूलो दल बनेको थियो । २०६५ साल जेठ १५ गते बसेको संविधान सभाको पहिलो बैठकबाट नेपाललाई गणतन्त्र नेपाल घोषणा गरिएको थियो । गणतन्त्र स्थापना पछि रामवरण यादव, विद्या भणडारी र रामचन्द्र पौडेल समेत तीन जना राष्ट्रपति चुनिएका छन् । दिवसका अवसरमा आज शैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिदै छ ।

गणतन्त्र दिवस,२०८० को शुभकामना सन्देश

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मालगायतले सन्देश जारी गर्दै शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा कुनै एक वंश विशेषमा ज्येष्ठताको आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता हो भनिएको छ ।
यस्तै प्रधानमन्त्री प्रचण्डद्वारा जारी सन्देशमा महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते अपाङ्ग योद्धाहरुसहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गरिएको छ । साथै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रुपमा स्थापित गर्न पहल गरिरहेको भनिएको छ । सञ्चारमत्री शर्माको सन्देशमा गणतन्त्रमा राजनीतिक, समाजिक, सांस्कृतिक रुपमा पछाडि पारिएका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका लगायत सबै नागरिकले विशिष्ट अधिकार प्राप्त गरेको विषयहरु स्मरण गरिएका छन् ।

प्रतिक्रिया