राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले अघिल्लो सङ्घीय संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेको राष्ट्रपति भवनका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइकी छन् ।
सङ्घीय संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक २०७९ साउन १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।
विधेयकमा चित्त नबुझेको भन्दै तत्कालीन राष्ट्रपति भण्डारीले आठ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिईन् । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर पुनः भदौ २० तत्कालिन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए । राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् । सोही विधेयक नौ महिनापछि आज प्रमाणीकरण भएको हो ।

प्रतिक्रिया