१८ जेठ, सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका भित्रका कृषियोग्य भूमिको माटो परिक्षण सुरु भएको छ ।
बुधबार गाउँपालिकाको वडा नं. १ जलविरेमा केन्द्रबाट माटो परिक्षण कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमको सुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले बलेफी गाउँपालिकामा कृषकहरुका लागि ढिलै भएपनि राम्रो कामको सुरुवात भएको बताए । गाउँपालिकाको कुन भूगोल वा भू-भागमा कुन बाली लगाउँदा किसानले उच्चतम प्रतिफल निकाल्न सक्नेछन् भन्ने माटो परिक्षण कार्यक्रमले सघाउने उनले बताए ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष हुप बहादुर खड्का, वडा नं. ३ का अध्यक्ष रितेश तामाङ, पशु सेवा प्राविधिक दिपेन्द्र दंगाल, कृषि प्राविधिक प्रवेश आचार्य, पशु स्वास्थ्य प्राविधिक सविन तिमल्सिना, जलविरे सेवा केन्द्रका कृषि कर्मचारी र कृषकहरुको उपस्थिती रहेको थियो । माटो परिक्षण बलेफी गाउँपालिकाका ८ वटै वडामा दुई दुई दिन सञ्चालन गर्ने गरि ब्यवस्था गरेको बलेफी गाउँपालिकका कृषि प्रविधिक प्रवेश आचार्यले बताए । कृषकहरुले ल्याइएका माटोमा पोटासियम, नाइट्रोजन, फसफोरस, अम्लिय र क्षारिय पना के के रहेको छ भनेर परिक्षण गरी माटो उपचार गर्न सुझाव दिइने उनको भनाई छ । माटोको उपचारका लागि चुना, भिटामिन, मिनरल्सहरु समेत उपलब्ध गराउँदै किसानलाई कुन बाली लगाउँदा उपयुक्त हुन्छ सिफारिस गरिने जनाइएको छ ।