चौतारा -६ र इन्द्रावती -२ जोड्ने बाहुनेबेसी ट्रस पुल उद्घाटन, पुलले तीन बर्ष पछि भेटायो सासु बुहारी

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ र इन्द्रावती गाउँपालिका वडा नं २ जोड्ने बाहुनेबेसी झ्याँडीखोला ट्रस पुल सञ्चालनमा आएको छ ।

२० जेठ, सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ र इन्द्रावती गाउँपालिका वडा नं २ जोड्ने बाहुनेबेसी झ्याँडीखोला ट्रस पुल सञ्चालनमा आएको छ ।
शनिबार चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले पुलको उद्घाटन गरेसँगै पुल सञ्चालनमा आएको हो । कार्यक्रममा सापकोटा प्रमुख अतिथि र इन्द्रावती गाउँपालिका प्रमुख झम्क नेपाल विशेष अतिथि थिए । स्थानीय जेष्ठ नागरिक, किसान र सम्बद्धहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पुल बनेपछिको खुसी साट्नेहरु बढी थिए ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक तथा जनहित ग्रामीण सेवा समितिको प्राविधिक सहयोगमा निर्माण सम्पन्न पुलका कारण दुबै तर्फका स्थानीयलाई आवत जावतमा सहज भएको नगरप्रमुख सापकोटाले बताए । कूल ४० लाख लागतमा निर्माण सम्पन्न भएको उक्त पुलले चौतारा ६ र इन्द्रावती २ लाई जोडेको छ । यस अघि २० बर्ष यता सो स्थानमा रहेको पुल निकै जिर्ण बनेको थियो । पुल उद्घाटन पछि संक्षिप्त मन्तव्य राख्दै चौताराका नगर प्रमुख सापकोटाले नगरपालिकाले आवश्यकताको आधारमा विकास कार्य अघि बढाइरहेको बताए ।

पुलले भेटायो सासु बुहारी

बीचमा खोलो, सासु बुहारी, वारी पारी । शारिरीक असक्तताका कारण तीन बर्ष यता इन्द्रावती गाउपालिका वडा न २ बस्ने बुहारी मैयाँ थापा र चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ बस्ने सासू माइली थापाको भेट हुन पाएको थिएन । लामो बाटो हिँडेर भेट गर्न जाने अवस्था पनि थिएन । शनिबार सासु भेट्न बुहारी मैयाँ पुल तरिन । ‘हामी दुबै जनालाई आज यो पुलले भेट गराइदियो’, ओठमा हाँसो र भरिएका गहसहित बुहारी मैयाँले खुसी व्यक्त गरिन् ।

प्रतिक्रिया