प्रधानमन्त्री स्वदेश फिर्ता, भारत भ्रमण विगत भन्दा सफल र परिणाममुखी भयो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन् ।

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन् । नेपाल एयरलाइन्सको राष्ट्रिय ध्वजाबाहक विमानबाट प्रधानमन्त्री शनिबार साँझ स्वदेश फिर्ता भएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगरसहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । प्रधानमन्त्रीलाई स्वागत गर्न मन्त्रिपरिषद् सदस्य र सरकारका विशिष्ट कर्मचारीको उपस्थिति थियो।
त्यस अघि आज अपरान्ह भारतको नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीसहित भारतीय उच्च अधिकारीको टोलीले बिदाइ गरेको थियो। चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै वार्ता गरेका थिए । त्यस्तै, सो क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपतिसहित त्यहाँका प्रतिनिधिमण्डलसँग भेटवार्ता गरी दुई देशको आपसी हितका विषयमा छलफल गरेका थिए

भारत भ्रमण विगत भन्दा सफल र परिणाममुखी


प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण विगत भन्दा सफल र परिणाममुखी भएको बताएका छन् । भारत भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन भारत भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले विगतमा थाँती रहेका विषयलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानी भएको जानकारी दिए । ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भएर विश्वासको वातावरण सिर्जना भएको छ । थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ । नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु ‘ उनले पत्रकार माझ भने ।

प्रतिक्रिया