बजेटमा विचौलियाबाट चलखेल भएको छैन : अर्थमन्त्री

अर्थमन्त्री प्रकाशसरण महतले बजेट बनाउँदा आर्थिक विधेयकमा विचौलीयाबाट चलखेल नभएको बताएका छन् ।

२३ जेठ, काठमाडौं । अर्थमन्त्री प्रकाशसरण महतले बजेट बनाउँदा आर्थिक विधेयकमा विचौलीयाबाट चलखेल नभएको बताएका छन् ।
मंगलबार सांसदहरुले उठाएका प्रश्नहरुको प्रतिनिधि सभामा जवाफ दिँदै अर्थमन्त्री डा. महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा हेर फेर गरेको भन्ने विषय आधारहीन भएको बताए ।
‘१४ गते राती अनधिकृत व्यक्ती प्रवेश गर्‍यो भन्ने विषयलाई आधार मानेर संसदमा प्रश्न उठेको छ,’ अर्थमन्त्री डा. महतले भने, ‘त्यसको स्पष्टीकरण अर्थ मन्त्रालयले दिइसकेको छ, फेरि सदनमार्फत उठेका विषयलाई समेत बुँदागत रुपमा स्पष्ट पार्न चाहन्छु ।’ बजेटसँगै आउने आर्थिक विधेयकमार्फत सरकारले करका दर परिवर्तन, खारेजी र नयाँ प्रस्ताव गर्ने गर्छ ।
विचौलियाहरुलाई मन्त्रालयको छेउछाउ पनि आउन नदिएको दावी गर्दै उनले हल्लाको भरमा पछि नलाग्न सांसदहरुलाई आग्रह गरे । आर्थिक विधेयकलाई अन्तिम रुप दिन अर्थमन्त्री, राजश्व सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार र आन्तरिक राजश्व विभागका महानिर्देशक लगायतका व्यक्ती रहने व्यवस्था छ । सोहीअनुसार आगामी आर्थिक वर्षको आर्थिक विधेयक तय गरेको अर्थमन्त्री डा. महतले जनाए । ‘यही व्यवस्थाअनुसारका व्यक्ती बसेर आर्थिक विधेयकका लागि छलफल गर्‍यौँ,’ महतले भने, ‘यो टिम बसेर स्वतन्त्ररुपमा आधारसहित करका दर तय गरिएको छ ।’

प्रतिक्रिया