चौताराले एक बर्षमा १८ करोड ७९ लाख राजश्व उठायो, किसान, जेष्ठ नागरिक र खानेपानीमा उल्लेख्य प्रगति

२६ जेठ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले एक बर्षमा १८ करोड ७९ लाख ५६ हजार राजश्व संकलन गरेको छ ।

२६ जेठ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले एक बर्षमा १८ करोड ७९ लाख ५६ हजार राजश्व संकलन गरेको छ ।

गरपालिकाले २०७९ श्रावण १ गतेदेखि २०८० जेठ २५ गते सम्मको प्रगति विवरण सार्वजनिक गर्न शुक्रबार आफ्नै भवनमा आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिइएको हो । विवरण अनुसार दहत्तर बहत्तर तर्फ १७ करोड २५ लाख, अन्य ३१ लाख ४ हजार ३ सय ६२ रुपैँया र १४ वटै वडा तर्फको जम्मा १ करोड १३ लाख ५१ हजार ८ सय २९ रुपैँया गरी कुल १८ करोड ६९ लाख ५६ हजार १ सय ९१ रुपैँया राजश्व संकलन गरेको हो । यस अबधिमा नगरपालिकाले पूँजिगत तर्फ ५३.८० प्रतिशत र चालु तर्फ ७०.३८ प्रतिशत खर्च गरेको छ ।

सार्वजनिक सुनुवाइका क्रममा नगर प्रमुख कृष्ण प्रसाद सापकोटा, उपप्रमुख सीता थापा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर के.सी. विभिन्न शाखका प्रमुख लगायतले एक बर्षसम्म भए गरेका कामबारे जानकारी दिएका थिए । कार्यक्रमको सुरुमा नगर उपप्रमुख सीता थापाले एक बर्षको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । त्यसपछि सञ्चारकर्मी र नगरबासीले नगरबाट प्राप्त सेवा सुविधा, सहजता र असहज भएका विषय खुलस्त राखेका थिए । एक बर्षे प्रगति विवरण र आम जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख सापकोटाले नगरका नागरिकको बृहत्तर हितलाई ध्यानमा राखेर कामको सुरुवात गरिएको बताए । उनले आगामी चार बर्ष कृषिलाई पहिलो प्राथमिकतामा राखेर जनताको सर्बोपरि हितमा काम गर्ने प्रतिवद्धता जनाए । नगरले सुधार गर्नु पर्ने विषयमा आएका सुझावलाई सकारात्मक रुपमा लिंदै अघि बढ्ने नगरप्रमुख सापकोटाको भनाई छ ।

यस अवधिमा नगरले सबै वडालाई विद्यालय बाहिर बालबालिका नरहेको वडा घोषणा गरेको छ । किसानलाई ६ किसिमका जैविक तथा रासायनिक औषधि ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएको नगरले ६६ वटा मिनिटिलर वितरण, १८२ जना कृषकहरुको माटो परीक्षण तथा ९३० जना कृषकहरुलाई ७.५ टन उन्नत मकैको बिउ र ४१० जनालाई ९ टन स्थानीय जातको धानको विउ वितरण गरेको जनाएको छ ।
एक बर्षमा २०.१० किलो मिटर नयाँ सडक निर्माण गरेको नगरले ३१० कि.मि. सडक स्तरोन्नती र २.१५ कि.मि. सडक कालोपत्रे गरेको छ । पाँच बर्षमा सबै घरमा खानेपानीको धारो पुर्याउने महत्वकांक्षी लक्ष्य राखेको नगरले यस बर्ष ४ सय ८६ खानेपानी धारा निर्माण एवं पानी वितरण गरेको छ । कार्यक्रममा दिइएको जानकारी अनुसार यस बर्ष ४ सय ६१ जना नागरिकहरुको स्वास्थ्य वीमा कार्य सम्पन्न गरेको छ भने २ हजार ४ सय ८८ जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । यसै बर्ष चौतारा बजारमा सिसिटिभी जडान गरी जिल्ला प्रहरी कार्यालय मार्फत अनुगमनको व्यवस्था मिलाएको नगरले नगरपालिका भित्रका १ हजार ४ सय ८१ जना सूचीकृत बेरोजगार श्रमिकहरु मध्ये १ सय २३ जनालाई १०० दिनको रोजगार प्रदान गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया